गृहपृष्ठ डेरी सञ्चालक भन्छन्– दूधमा मिसावट सामान्य
डेरी सञ्चालक भन्छन्– दूधमा मिसावट सामान्य
डेरी विज्ञ तथा व्यवसायीले दूध तथा दुग्धजन्य पदार्थमा मिसावट सामान्य भएको बताएका छन् । आइतबार नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघले राजधानीमा आयोजना गरेको ‘दूध तथा दुग्धजन्य पदार्थमा मिसावट’का विषयमा गरेको पत्रकार भेटघाटमा व्यवसायी टेकबहादुर थापाले दुग्धजन्य पदार्थमा विश्वभर मिसावट हुने बताए । ‘दूध तथा दुग्धजन्य पदार्थमा मिसावट सामान्य हो,’ उनले भने, ‘तर मिसावटको लेभल भने ख्याल गर्नुपर्छ ।’
कार्यक्रममा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघका महासचिव डा. अतुल उपाध्यायले व्यवसायीले डेरी प्रोडक्टमा लापर्बाही गरेर उपभोक्ताको जीवनमाथि खेलवाड गरिरहेको बताए । ‘दक्ष जनशक्ति र विज्ञ आवश्यक परे संघले उपलब्ध गराउँछ,’ उनले भने, ‘तर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन ।’
प्रा. डा. गंगा खरेलले खाद्यवस्तुमा कुनै पनि अखाद्य वस्तु मिसाउनै नहुने दाबी गरे । ‘खाद्य वस्तुमा केमिकल प्रयोग गर्नै मिल्दैन,’ उनले भने, ‘त्यसो हुँदा लेभल मिलाएर मिसावट गर्ने भन्ने प्रश्नै आउँदैन ।’ कार्यक्रम अधिकांश वक्ताले खाद्यपर्दाथमा अधिकतम स्वच्छता कायम राख्न माग गरेका छन् ।
प्रकाशित समय : ००:०३ बजे


















