गृहपृष्ठ अन्ततः थाइल्याण्ड गुफाबाट सबै किशोरको सकुशल उद्धार

अन्ततः थाइल्याण्ड गुफाबाट सबै किशोरको सकुशल उद्धार

अन्ततः थाइल्याण्ड गुफाबाट सबै किशोरको सकुशल उद्धार
अन्ततः उत्तरी थाईल्याण्डस्थित गुफामा फसेका सबै किशोरको शकुसल उद्धार गरिएको छ । बीबीसीका अनुसार बाढीग्रस्त गुफामा दुई हप्तादेखि फसेका १३ जनामध्ये उद्धार गर्न बाँकी पाँच सदस्यलाई पनि अभियानको तेस्रो दिन मंगलबार सकुशल बाहिर निकालिएको हो ।
थाई जलसेनाले गुफामा गत जुन २३ देखि फसेका सबै जनाको उद्धार गरिएको पुष्टि गरेको छ । आइतवार र सोमवार प्रत्येक दिन चार–चार जना गरेर गुफाको प्रवेशद्वारबाट चार किलोमिटिर भित्र फसेको टोलीका आठ बालकको सकुशल उद्धार गरिएको थियो ।
उद्धार गरिएका किशोर लिएर एम्बुलेन्सहरू चियाङ राईस्थित अस्पताल पुग्दा त्यहाँ भेला भएका मानिसहरूले हर्षोल्लास गरेका थिए । ११ देखि १६ वर्ष उमेरका १२ किशोर र तिनका प्रशिक्षक गुफामा बाढी छिरेपछि नौ दिन सम्पर्कविहीन भएका थिए ।
नौ दिनको खोजीपछि गत हप्ता उनीहरूलाई गोताखोहरूले जलमग्न अँध्यारो गुफाको एउटा ढिस्कोमा जीवितै फेला पारेका थिए । तर, मनसुन सुरु भइसकेको र थप वर्षा हुँदा गुफा अझ जलमग्न हुने र सो समूह जोखिममा पर्ने विचार गरेर बालकहरूलाई आइतवारदेखि बाहिर निकाल्न थालिएको थियो । तेस्रो दिनको अभियान स्थानीय समयानुसार बिहान नौ बजे सुरु भएको थियो । आवश्यक उपकरण र अक्सिजनका ट्याङ्की लिएर १९ गोताखोरहरू गुफामा प्रवेश गरेका थिए ।
बाहिर वर्षा भइरहेको भए पनि गुफाभित्र पानीको सतह आइतवारको जति नै भएको बताइएको छ । अपरान्ह गुफाबाहिर हेलिकप्टर र एम्बुलेन्सहरू देखिएको थियो । तर, त्यहाँ सञ्चारमाध्यमलाई भने जान दिइएको थिएन । थाई र विदेशीसमेत गरेर ९० भन्दा बढी गोताखोरहरू यो जटिल उद्धार अभियानमा सहभागी भएका थिए । ती अनुभवी गोताखोरहरूले बालकहरूलाई गुफाका जलमग्न एवम् अँध्यारो भागहरूमा मार्गदर्शन गरेर बाहिर ल्याएका थिए । यो अभियानमा संलग्न एक गोताखोरको केही दिनअघि गुफाबाट फर्किने क्रममा मृत्यु भएको थियो । अभियानमा हजारौँ व्यक्तिहरूले सहयोग गरेका थिए ।

 

प्रकाशित समय : १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु