गृहपृष्ठ निर्मला हत्याबारे गृहमन्त्रीको खुलासा– मुचुल्कामा ‘बुबाको औँठाछाप’
निर्मला हत्याबारे गृहमन्त्रीको खुलासा– मुचुल्कामा ‘बुबाको औँठाछाप’
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा गृहमन्त्री रामबहादुर थापाले नयाँ खुलासा गरेका छन् । गृहमन्त्री थापाले अनुसन्धानका क्रममा उठाइएको मुचुल्कामा निर्मलाको बाबुको ‘नक्कली औँठाछाप’ भेटिएको खुलासा गरेका हुन् । निर्मला हत्याको घटना छानबिन गर्न गठिन समितिले मंगलबारमात्रै गृहमन्त्री थापालाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझेको भोलिपल्टै अर्थात् बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘घटना १० गते भएको छ, ११ गते मुचुल्का उठाउँदै त्यहाँ बाबुको औंठाछाप लगाइएको छ । जबकी भारतबाट १२ गते आएको भनिएको छ ।’
उनले मृतकको कपडा पखाल्ने काम मात्र नभइ त्यसलाई जलाउने कामसमेत ठूलो त्रुटीपूर्ण विषय भएको बताए । ‘अपराध अनुसन्धान गर्ने एबीसिडी हुन्छ, तर यहाँ कपडासमेत जलाइएको छ,’ उनले भने ।
उनले छानबिन समितिका सदस्य वीरेन्द्र केसीको राजीनामाबारे पनि नयाँ कुरा सुनाए । केसीले आफूलाई बडिबिल्डर जस्तो देखिने व्यक्तिले यस्तो छानिबन गर्नेलाई गाडीले किचेर मार्छन् भनेर सुनाएको गृहमन्त्री थापाले स्मरण गरे । केसीले राजीनामा दिनुको कारण गृह मन्त्रालयसम्म कुरा गर्न नपाएर भएको गृहमन्त्रीको दाबी थियो ।
बैठकमा सांसदहरुले निर्मलाका हत्यारा कहिले पत्ता लाग्छन् भनेर प्रश्न गरेका थिए । त्यसको जवाफमा गृहमन्त्रीले भने, ‘गृहमन्त्री र प्रहरी ज्योतिषी होइनन्, छिटोभन्दा छिटो दोषी पत्ता लगाउने प्रयास गरिरहेका छौँ, कुन मितिमा कानुनी कठघरामा ल्याइन्छ भन्नेबारे किटेर भन्न सकिँदैन ।’
निर्मला पन्त प्रकरणसहित अन्य यौन हिंसा, हत्या लगायतका घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही गरिने बताउँदै थापाले रौतहट र नवलपरासीमा महिलामाथि एसिड आक्रमण गर्नेलाई नियन्त्रणमा लिएको जानकारी समितिलाई गराए ।
निर्मला हत्याको २ दिनपछि नै सीआईबीलाई अनुसन्धानको लागि त्यसतर्फ पठाइएकोमा सुरक्षाकर्मीकै गल्तीका कारण छानबिनमा ढिलाइ हुन पुगेको उनले स्वीकारे ।
प्रकाशित समय : २३:२३ बजे


















