गृहपृष्ठ पोखरामा पर्यटन उत्सव, काहुँडाँडाको प्रवर्द्धनमा जोड
पोखरामा पर्यटन उत्सव, काहुँडाँडाको प्रवर्द्धनमा जोड
पर्यटन प्रवर्द्धनमा सबै नेपाली एकजुट भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ३९ औँ विश्व पर्यटन दिवसको अवसरमा पोखरामा आयोजित कार्यक्रमका वक्ताहरुले नेपालको पर्यटकीय सुन्दरताको सन्देश विश्वलाई दिन सके समृद्धिको यात्रा प्रभावकारी हुने बताएका हुन् ।
सो अवसरमा हवाई मार्ग तथा सडक मार्ग हुँदै पोखरा पुगेका पर्यटकहरुलाई फूलमाला तथा बाजागाजाका साथ स्वागत गरिएको छ । यस्तै रेवान पोखराले लेकसाईडमा मिनी सडक महत्सव संचालन गरेको छ । यसैगरी पर्यटन यातायात समितिले पर्यटकीय गाउँ काहुँडाँडामा विशेष कार्यक्रम गरेको छ । सो कार्यक्रमका वक्ताले काहुँडाँडा पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ भए पनि ओझेलमा परेको बताए । यस्तै पर्यटन प्रवद्र्धनमा एकजुट भएर लाग्नुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।
गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सन् २०२० सम्ममा गण्डकी प्रदेशमा एकै रातमा दुई लाख पर्यटक राख्न सक्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाले आएका पाहुनालाई राख्नको लागि अहिलेदेखि गाउँदेखि पर्यटकीय स्थानमा होमस्टे र होटलहरु निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले स्थानीय जनता जागरुक नभएको कारण काहँुडाँडाको विकास हुन नसकेको बताए । नेपाल स्थित अमेरिकी दुतावाका परामर्शदाता जेम्सले काहुँडाँडा प्राकृतिक र सांस्कृतिक रुपमा धनी र रमणीय स्थल रहेको बताए ।
पोखरा महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोख्रेल, अग्रज पर्यटन व्यवसायी बसु त्रिपाठी, जिल्ला समन्व समिति कास्कीका प्रमुख बयनबहादुर क्षेत्री, फूलवारी क्लवका सचिव दामु आचार्यलगायतले पर्यटन प्रर्बद्धन गर्न सबैको साथ र सहयोग आवश्यक भएको बताए ।

यसैबीच काहुँडाँडामा ६ अर्बको बृहत योजना अघि सारिएको छ । आगामी ५ बर्ष भित्रमा ६ अर्बको लागतमा धर्मकाया बुद्ध मण्डला, बहुउद्देश्यीय भवन, एशोधा पार्कलगायतका भौतिक संरचना निर्माण गरिने भएको धर्मकाया बुद्ध मण्डला निर्माण समितिका अध्यक्ष रुद्र कुमारी गुरुङ (मैना) ले जानकारी दिइन् । पोखराको मुख्य बजारदेखि करिब ८ किलोमिटरको दूरीमा रहेको काहुँडाँडा समुद्री सतहबाट करिब १ हजार ४ सय ४३ मिटरको उचाईमा रहेको छ ।
प्रकाशित समय : ००:४७ बजे



















