घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल
वि.सं.२०८३ कात्तिक २८ शनिवार १०:३९
shares

गण्डकी । तिहार र छठ पर्वको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँमा पर्यटकको चहलपहल बढेको छ। आन्तरिक पर्यटकको उल्लेख्य आगमनसँगै यी गाउँका होटल तथा घरबास भरिभराउ भएका छन्। पर्यटकको चाप बढेपछि कतिपयले आवास पाउनसमेत कठिनाइ भोग्नुपरेको छ।
अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने घान्द्रुकमा तिहारको भोलिपल्टदेखि पर्यटकको आगमन बढेको हो। घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार अहिले दैनिक तीन हजार चार सयदेखि तीन हजार पाँच सयसम्म पर्यटक गाउँ पुग्ने गरेका छन्। होटलमा कोठा पाउन कठिन हुन थालेपछि समितिले अग्रिम बुकिङ गरेर मात्र भ्रमणमा आउन पर्यटकलाई आग्रह गरेको छ।
घान्द्रुक पुग्ने पर्यटकमध्ये अधिकांश आन्तरिक छन्। भारतीय तथा अन्य मुलुकका पर्यटकको आगमन पनि भइरहेको छ। अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यका रूपमा रहेको घान्द्रुक अन्नपूर्ण आधार शिविर तथा पुनहिल–घोरेपानी पदमार्गमा पर्ने भएकाले पदयात्रीका लागि विश्रामस्थलसमेत हो।
अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको मनोरम दृश्य, गुरुङ समुदायको मौलिक संस्कृति, गाउँले परिवेश तथा स्थानीय आतिथ्य यहाँका मुख्य आकर्षण हुन्। सडक पहुँच विस्तार भएसँगै पछिल्लो समय आन्तरिक पर्यटकको आगमन थप बढेको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ। पर्यटन व्यवस्थापन समितिका अनुसार गाउँमा रिसोर्टसहित ८० होटल र ३५ घरबास सञ्चालनमा छन्।
मादी गाउँपालिका–१ स्थित सिक्लेस गाउँमा पनि पर्यटकको चाप बढेको छ। पर्यटक सूचना केन्द्रका अनुसार तिहारको भोलिपल्ट मात्रै एक हजार तीन सय २४ जना पर्यटक सिक्लेस पुगेका थिए। एकैपटक ठूलो सङ्ख्यामा पर्यटक आउँदा होटल व्यवस्थापनमा कठिनाइ भएको स्थानीय व्यवसायीले जनाएका छन्।
नमस्ते गेस्ट हाउसका सञ्चालक झरना गुरुङका अनुसार होटल आइतबारसम्मका लागि बुकिङ भइसकेको छ। नयाँ पाहुनालाई कोठा उपलब्ध गराउन कठिन भएपछि पर्यटकलाई होटलको अवस्था बुझेर अग्रिम बुकिङ गर्न उनले आग्रह गरेकी छन्।
हिमालको काखमा अवस्थित सिक्लेस प्राकृतिक सौन्दर्यसँगै गुरुङ संस्कृति र परम्पराका लागि परिचित छ। एकै बान्कीका ढुङ्गा र जस्ताका छाना भएका घर, ढुङ्गे आँगन तथा बाटो, परम्परागत झ्यालढोका र साँघुरा गल्लीले गाउँको मौलिक पहिचान झल्काउँछन्। मादी खोला, हरियाली वनपाखा र हिमाली दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेका छन्।
गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, मौलिक भेषभूषा, नाचगान तथा स्थानीय परिकार यहाँका थप आकर्षण हुन्। सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या पनि बढेको स्थानीय व्यवसायीको भनाइ छ। दुई दशकअघि सामुदायिक घरबासबाट सुरु भएको यहाँको पर्यटन व्यवसाय अहिले होटल तथा घरबाससम्म विस्तार भएको छ।
पोखरा महानगरपालिकासँग जोडिएको माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ गाउँमा पनि पर्यटकको आगमन बढेको छ। तिहारको भोलिपल्टदेखि होटल तथा घरबास पाहुनाले भरिएपछि व्यवस्थापनमा कठिनाइ भएको ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मञ्जु गुरुङले बताइन्।
विसं २०६७ मा सात घरबाट सुरु भएको ल्वाङको घरबास व्यवसाय अहिले २६ घरमा विस्तार भएको छ। यहाँका घरबासमा एकै रातमा चार सयसम्म पाहुनालाई आवासको व्यवस्था गर्न सकिन्छ। प्रकृति र गुरुङ संस्कृतिको अनुभव लिन चाहने पर्यटकका लागि ल्वाङ लोकप्रिय गन्तव्य बन्दै गएको छ।
समुद्री सतहबाट एक हजार चार सय मिटर उचाइमा रहेको ल्वाङबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलामा देखिने सूर्योदयको दृश्य आकर्षक मानिन्छ। गाउँको सिरानमा एक हजार दुई सय रोपनी क्षेत्रफलमा फैलिएको चियाबारी यहाँको अर्को प्रमुख आकर्षण हो। चियाबारी, गुरुङ संस्कार, रैथाने खाना तथा स्थानीय जीवनशैलीको अनुभव लिन स्वदेशी र विदेशी पर्यटक गाउँ पुग्ने गरेका छन्।
ल्वाङ पुग्ने पर्यटकले स्थानीय परिकार बनाउने तरिका, खेतीपाती तथा निगालोबाट डोको र सेखुजस्ता सामग्री बनाउने सीपबारे जानकारी लिन पाउँछन्। अन्नपूर्ण आधार शिविर र मर्दी पदमार्ग जाने पर्यटकले पनि यहाँ विश्राम गर्ने गरेका छन्। नजिकैको पोखरा क्यानोनिङ र घलेल गाउँले यस क्षेत्रको पर्यटकीय आकर्षण थपेका छन्।
पोखराबाट घान्द्रुक, सिक्लेस र ल्वाङसम्म सडकमार्फत पुग्न सकिने भएकाले यी गाउँको भ्रमण सहज बनेको छ। प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, पदयात्रा तथा घरबासको अनुभव लिन पर्यटक यी गन्तव्यमा पुग्ने गरेका छन्।
तिहार र छठको बिदासँगै बढेको पर्यटक आगमनले स्थानीय पर्यटन व्यवसायलाई चलायमान बनाएको छ। तर, पर्यटकको चापअनुसार आवास व्यवस्थापन र पर्याप्त सेवा सुविधा उपलब्ध गराउनु स्थानीय व्यवसायीका लागि चुनौती बनेको छ।

























