काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रसुवाको नागथली आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै

210
shares

रसुवा । रसुवाको नागथली आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताले भरिएको नागथली पछिल्लो समय पदयात्रा र हिमाली दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्न थालेको छ।

समुद्री सतहबाट तीन हजार १६५ मिटरको उचाइमा रहेको नागथली गोसाइँकुण्ड गाउँपालिका–१, थुमनमा पर्छ। स्थानीय भाषामा ‘नगथली’ भनेर चिनिने यो स्थान हाइकिङ र हिमाली दृश्यावलोकनका लागि उपयुक्त मानिन्छ।

गुम्बानजिकै नागको थान रहेकाले यस ठाउँको नाम ‘नागथली’ रहन गएको स्थानीय बासिन्दाको भनाइ छ। प्राचीनकालमा गुरु रिम्बोर्छेले यस क्षेत्रमा तपस्या गरी गुम्बा निर्माण गरेको जनविश्वास छ। गुम्बाभित्र भगवान् बुद्ध, चेरेसी र गुटासिङतोङका मूर्ति छन्।

चन्द्रपात्रोअनुसार प्रत्येक वर्ष वैशाख र असोज महिनाको पूर्णिमामा यहाँ विशेष पूजाआजासहित मेला लाग्छ। मुख्य गुम्बाको उत्तर–पश्चिम कुनामा अर्को गुम्बा तथा विभिन्न धार्मिक र ऐतिहासिक स्थल छन्।

यस क्षेत्रमा गुरु रिम्बोर्छेको पैतालाको डोब, पाप र धर्म छुट्याउने विश्वास गरिएको सुरुङ, ‘खण्डोमो क्षाम्सा’ (देवी नाच्ने थान) र प्राचीन ढुङ्गे गुफा अवलोकन गर्न सकिन्छ। गुरु रिम्बोर्छेले मन्त्रद्वारा निकालेको भनिएको कहिल्यै नसुक्ने सानो पानीको मुहानलाई स्थानीय बासिन्दा तथा भक्तजनले पवित्र जलका रूपमा प्रयोग गर्दै आएका छन्।

नागथलीबाट गगनचुम्बी हिमशृङ्खला र हिमनदी (ग्लेसियर) को मनमोहक दृश्य देख्न सकिन्छ। पदमार्गको छेउछाउमा बग्ने नदी, विभिन्न प्रजातिका लालीगुराँस, माने, छुर्तेन तथा फराकिला खर्कमा चरिरहेका याक, चौँरी र भेडाका बथान यहाँका मुख्य आकर्षण हुन्।

यस क्षेत्रको वनजङ्गलमा हिमचितुवा, घोरल, थारल, भालु, बँदेल र लङ्गुर बाँदरलगायतका वन्यजन्तु पाइन्छन्। नागथलीबाट करिब दुई घण्टाको पैदलयात्रामा ‘तरुचे’ पुग्न सकिन्छ। तरुचेबाट छिमेकी मुलुक चीनतर्फका ठोङ्सा, नेस्यारगाउँ र च्याङगाउँ वरपरका भूभाग स्पष्ट देखिन्छन्।

त्यस्तै, नागथलीबाट करिब एक दिनको पैदलयात्रामा गणेश हिमालको फेँदीसम्म पुग्न सकिन्छ। यस क्षेत्रको ऐतिहासिक ‘माला गढी’ पनि पर्यटकका लागि अर्को आकर्षण बनेको छ।

सामान्य अवस्थामा पासाङल्हामू राजमार्गको स्याफ्रुबेँसी–टिमुरे खण्डमा पर्ने रोङ्गाबाट मेन्दो र थुमन गाउँ हुँदै नागथली पुग्न सकिन्छ। थुमन गाउँबाट करिब चार घण्टाको ठाडो उकालो चढेपछि नागथली पुगिन्छ।

त्यस्तै, ‘तामाङ सम्पदा मार्ग’अन्तर्गत स्याफ्रुबेँसीबाट गोल्जुङ, गतलाङ र चिलिमे (तातोपानी) हुँदै नागथली पुग्ने अर्को बाटो पनि छ। तर गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक सञ्जाल बगाएपछि करिब साढे दुई महिनासम्म यस क्षेत्रको आवागमन पूर्ण रूपमा बन्द भएको थियो।

हालै स्थानीय बासिन्दाको श्रमदानबाट भोटेकोशी नदीमा काठेपुल निर्माण भएपछि आवागमन पुनः सुरु भएको छ। सडक सञ्जाल अवरुद्ध भएकाले अहिले पर्यटकले स्याफ्रुबेँसीदेखि नै पैदलयात्रा गरेर नागथली पुग्नुपर्ने अवस्था छ।

तिब्बती, शेर्पा र तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा र रहनसहन पनि नागथलीको अर्को विशेषता हो। पर्यटकको आगमन बढेसँगै यस क्षेत्रमा पूर्वाधार र आतिथ्य सेवासमेत विस्तार हुँदै गएको गोसाइँकुण्ड गाउँपालिका–१ का वडाध्यक्ष उर्केन लामाले बताए।

उनका अनुसार पर्यटकको सहजताका लागि वडा कार्यालयले बजेट विनियोजन गरी आवश्यक योजना तथा व्यवस्थापनको काम अघि बढाएको छ।

“पहिले यहाँ एउटा मात्रै होटल थियो, अहिले पर्यटकको चाप बढेसँगै करिब छ वटा होटल तथा लज सञ्चालनमा आइसकेका छन्,” वडाध्यक्ष लामाले भने, “बाढीले सडक बगाए पनि स्थानीयको श्रमदानमा काठेपुल बनेपछि अहिले स्याफ्रुबेँसीदेखि नै हाइकिङ गर्दै आउने पर्यटकका लागि बाटो खुलेको छ।”

रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले नागथली पदयात्रा र सांस्कृतिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको बताए।

“काठमाडौँबाट नजिकै रहेर पनि हिमाली जनजीवन, चौँरी खर्क, लालीगुराँस र चीनको सीमावर्ती क्षेत्रको दृश्यावलोकन एकैसाथ गर्न पाइने भएकाले नागथलीको प्रवर्द्धनमा पर्यटन समाजले विशेष जोड दिएको छ,” उनले भने, “स्थानीयको श्रमदानमा काठेपुल बनेसँगै अहिले पदयात्रीका लागि यो मार्ग झनै रोमाञ्चक बनेको छ।”