काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भोजपुरको तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

987
shares

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ। कालोपत्रसँगै वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकमा आवतजावत सहज बनेको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउँपालिकाको प्रवेशद्वार तिवारीभञ्याङलाई शून्य विन्दु मानेर गाउँपालिका केन्द्र च्याङ्गेसम्म सडक कालोपत्र गरिएको हो। कृषि, पर्यटन तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले सडक निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ।

सडक कालोपत्र भएपछि गाउँपालिकावासीमा उत्साह थपिएको पौवादुङमा गाउँपालिका–२ तिवारीभञ्याङका स्थानीयवासी राजकुमार तिवारीले बताउनुभयो। उहाँका अनुसार सडक स्तरोन्नतिसँगै स्थानीयको आवतजावत सहज हुनुका साथै दैनिकीमा समेत परिवर्तन आएको छ।

“तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र भएपछि जनजीवनमा परिवर्तन आएको छ,” उहाँले भन्नुभयो, “गाउँपालिकाले गरेको यो काम प्रशंसनीय छ। यो सडकले गाउँपालिकाको सम्पूर्ण भूभागलाई छोएकाले यहाँ उत्पादित कृषि उपजले पनि राम्रो बजार पाउने अपेक्षा गरेका छौँ।”

तिवारीभञ्याङदेखि अँधेरीघाटसम्मको ३१ किलोमिटर सडकखण्डमध्ये गाउँपालिका केन्द्र च्याङ्गेसम्म करिब दुई किलोमिटर सडक कालोपत्र सम्पन्न गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो। उहाँका अनुसार सडकलाई दुई प्याकेजमा विभाजन गरी निर्माण गरिएको हो। पहिलो प्याकेजअन्तर्गत तिवारीभञ्याङको शून्य विन्दुदेखि वडा नं. २ स्थित स्वास्थ्यचौकीसम्म र दोस्रो प्याकेजअन्तर्गत स्वास्थ्यचौकीदेखि गाउँपालिका केन्द्र च्याङ्गेसम्म कालोपत्र गरिएको छ।

गाउँपालिकाका अध्यक्ष किरण राईले उक्त सडकलाई गौरवको योजनाका रूपमा अघि बढाइएको बताउनुभयो। भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्गका रूपमा रहेको यस सडकलाई प्राथमिकताका साथ निर्माण गरिएको उहाँको भनाइ छ।

“यो सडक हाम्रो गाउँपालिकाको गौरवको योजना हो,” अध्यक्ष राईले भन्नुभयो, “भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग पनि हो। आगामी दिनमा अँधेरीघाटसम्मको ३१ किलोमिटर सडक नै कालोपत्र गर्ने लक्ष्य लिएका छौँ। हाल च्याङ्गेसम्मको सडक कालोपत्र सम्पन्न भएको छ।”

सडक कालोपत्रले गाउँपालिकाको भौतिक पूर्वाधार विकासमा टेवा पुग्नुका साथै कृषि उत्पादनको बजारीकरण, स्थानीयको आवतजावत र आर्थिक गतिविधिमा सहजता थपेको अध्यक्ष राईले बताउनुभयो। गाउँपालिका केन्द्रसम्म सडक कालोपत्र भइसकेकाले बाँकी खण्डलाई समेत स्तरोन्नति गरी पूर्ण रूपमा कालोपत्र गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ।