गच्छे–भालुबाङ सडकले छोट्याउँदैछ दूरी, १२० किलोमिटरको यात्रा अब ७३ किलोमिटरमा
वि.सं.२०८३ कात्तिक २५ बुधवार ०८:३८
shares

अर्घाखाँची। लुम्बिनी प्रदेशको राजधानी भालुबाङ अर्घाखाँचीको सिमानासँगै जोडिए पनि त्यहाँ पुग्न जिल्लावासीले लामो र घुमाउरो सडकयात्रा गर्नुपर्ने बाध्यता छ। सदरमुकाम सन्धिखर्कबाट कपिलवस्तुको गोरुसिङ्गे, चन्द्रौटा र धानखोला हुँदै भालुबाङ पुग्न करिब १२० किलोमिटर यात्रा गर्नुपर्छ। तर, निर्माणाधीन गच्छे–भालुबाङ सडक सम्पन्न भएपछि यो दूरी घटेर करिब ७३ किलोमिटरमा सीमित हुनेछ।
सन्धिखर्कको गच्छेबाट ढिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल र दरबाङ हुँदै भालुबाङ जोड्ने सडक निर्माणले गति लिएसँगै प्रदेश राजधानी पुग्ने दूरी करिब ४७ किलोमिटर छोटिने भएको हो। प्रदेश राजधानी आफ्नै जिल्लाको सिमानामा भएर पनि घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले अघि बढाइएको यो सडक अर्घाखाँचीको महत्त्वपूर्ण पूर्वाधार आयोजना बनेको छ।
लुम्बिनी प्रदेश सरकारले गौरवको योजनाका रूपमा अघि बढाएको यस सडकको निर्माण सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले गरिरहेको छ। गच्छेदेखि भालुबाङसम्म सडकको कुल लम्बाइ ७३ किलोमिटर रहेको छ।
कार्यालयका प्रमुख इन्जिनियर वासुदेव भण्डारीका अनुसार गच्छेदेखि धनचौर हुँदै लामातालसम्मको ४७.५ किलोमिटर सडकमा ग्राभेल गर्ने काम सम्पन्न भइसकेको छ। सडकका विभिन्न खण्डमा कालोपत्र, ग्राभेल तथा आवश्यक संरचना निर्माणका काम भइरहेका छन्। गच्छेदेखि गैरागोठसम्मको सडक गत आर्थिक वर्षमै कालोपत्र गरिएको थियो।
चालु आर्थिक वर्षमा पनि दुईवटा खण्डमा निर्माणकार्य अघि बढाइएको भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार अम्मर एसियाली मल्लरानी जेभी प्युठानले गच्छेदेखि ढिकुरासम्मको ५.६५ किलोमिटर सडकमा अस्फाल्ट कालोपत्र गरिरहेको छ। उक्त खण्डमा कालोपत्रसँगै आवश्यक संरचना निर्माण र ग्राभेलको काम पनि भइरहेको छ। यसका लागि करिब साढे तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। निर्माणकार्य केही दिनमै सम्पन्न हुने उहाँले बताउनुभयो।
त्यस्तै, समपूरक आयोजनाअन्तर्गत अर्को खण्डमा पनि कालोपत्रको काम भइरहेको छ। खनाल वैदर्श सागर जेभी अर्घाखाँचीले अघिल्लो आर्थिक वर्षमा सम्झौता गरी निर्माण सुरु गरेको उक्त आयोजनाअन्तर्गत करिब ९.५ किलोमिटर सडक कालोपत्रसहित निर्माण भइरहेको छ।
निर्माण व्यवसायी कविराम खनालका अनुसार उक्त खण्डको भौतिक प्रगति करिब ३५ प्रतिशत पुगेको छ। आगामी आर्थिक वर्षसम्म सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भए पनि निर्माणलाई तीव्रता दिँदै चालु आर्थिक वर्षभित्रै काम सक्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो।
सडक निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट पाँच करोड र सङ्घीय सरकारबाट पाँच करोड गरी कुल १० करोड रुपैयाँ विनियोजन भएको छ। उक्त बजेटबाट करिब साढे नौ किलोमिटर सडकमा अस्फाल्ट कालोपत्र गर्नेगरी काम भइरहेको कार्यालय प्रमुख भण्डारीले जानकारी दिनुभयो।
वर्षौँदेखि प्रदेश राजधानीसँग सहज सडक सम्पर्कको प्रतीक्षामा रहेका जिल्लावासीका लागि निर्माणले गति लिनु उत्साहजनक बनेको छ। सडकका विभिन्न खण्डमा कालोपत्र र स्तरोन्नतिको काम अघि बढेसँगै आयोजना पूरा हुने अपेक्षा बढेको छ।
गच्छे–भालुबाङ सडकबाट अर्घाखाँचीका नागरिकसँगै छिमेकी जिल्ला गुल्मी, प्युठान र पाल्पाका बासिन्दाले समेत लाभ लिन सक्नेछन्। सन्धिखर्कलाई प्रदेश राजधानीसँग छोटो सडकमार्गबाट जोड्ने यस आयोजनाले ग्रामीण क्षेत्रको यातायात पहुँच विस्तारमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
विशेषगरी नेपालको सबैभन्दा ठूलो नगरपालिका शितगङ्गा नगरपालिकाका वडा नं. ५, ६ र ७ तथा भूमिकास्थान नगरपालिकाका वडा नं. ९ र १० हुँदै सडक जाने भएकाले ती क्षेत्रका नागरिक प्रत्यक्ष लाभान्वित हुने भूमिकास्थान नगरपालिका–१०, धनचौरका स्थानीय समाजसेवी लेखनाथ पाण्डेले बताउनुभयो।
हाल ती क्षेत्रका बासिन्दाले सदरमुकाम, प्रदेश राजधानी तथा अन्य बजारसम्म पुग्न भौगोलिक अवस्था र सडक पहुँचका कारण समस्या झेल्दै आएका छन्। सडक निर्माण सम्पन्न भएपछि आवतजावत सहज हुनुका साथै कृषि तथा पशुजन्य उत्पादन बजारसम्म पुर्याउन पनि सजिलो हुनेछ।
ग्रामीण क्षेत्रमा उत्पादित तरकारी, फलफूल, दूधलगायत कृषि उपजले सहज रूपमा बजार पाउने सम्भावना बढ्नेछ। सडक पहुँच विस्तारसँगै स्थानीय व्यापार, होटल तथा पर्यटन गतिविधि बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रदेश राजधानी भालुबाङसँग प्रत्यक्ष सडक सम्पर्क स्थापित भएपछि सरकारी काम, स्वास्थ्य उपचार, शिक्षा र व्यापारिक प्रयोजनका लागि आवतजावत गर्ने नागरिकलाई समेत राहत मिल्नेछ। यात्रा समय र इन्धन खर्च घट्दा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
यद्यपि, सम्पूर्ण सडकलाई कालोपत्र गरी पूर्णता दिन थप बजेट आवश्यक देखिएको छ। हालसम्म भएका निर्माणकार्यले सडकको आधार तयार गरे पनि बाँकी खण्डको स्तरोन्नति र कालोपत्रका लागि पर्याप्त स्रोत जुटाउनुपर्नेछ। झन्डै एक अर्ब रुपैयाँ बजेट उपलब्ध भए सम्पूर्ण सडक कालोपत्र गर्न सकिने अनुमान गरिएको छ।
प्रदेश राजधानीसँग जोडिने सडक भएकाले यसलाई सामान्य स्थानीय सडकका रूपमा मात्र नभई प्रदेशस्तरीय महत्त्व बोकेको रणनीतिक सडकका रूपमा अघि बढाउनुपर्ने जिल्लावासीको अपेक्षा छ। पर्याप्त बजेट विनियोजन गरी बहुवर्षीय योजनाका रूपमा निरन्तर काम गर्न सके आगामी केही वर्षभित्र सडकले पूर्णता पाउने सम्भावना छ।
भौगोलिक रूपमा नजिक भएर पनि सडकका कारण टाढा रहेको भालुबाङलाई गच्छे–भालुबाङ सडकले अर्घाखाँचीको पहुँचमा ल्याउने अपेक्षा गरिएको छ। यसले दूरी मात्र घटाउने नभई जिल्लाको आर्थिक, सामाजिक र प्रशासनिक सम्बन्धलाई प्रदेश राजधानीसँग थप मजबुत बनाउनेछ। त्यसैले आयोजना समयमै सम्पन्न गर्न पर्याप्त बजेट, प्रभावकारी अनुगमन र निरन्तर निर्माणको वातावरण आवश्यक देखिएको छ।

























