काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

945
shares

काठमाडौं ।  अमेरिकाको भर्जिनिया राज्यमा नेपाली मूलकी ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई अदालतले दोषी ठहर गरेको छ। मंगलबार बसेको न्यायाधीशसहितको निर्णायक मण्डलले नरेशलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको हो। साथै, मृतकको शव लुकाएको र शवको अपमान गरेको अभियोगमा समेत उनलाई दोषी ठहर गरिएको छ।

सन् २०२४ जुलाई २७ देखि सम्पर्कविहीन भएकी ममता काफ्लेको खोजीका क्रममा प्रहरीले उनका पति नरेशमाथि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा घरमा रगतका दाग, कपालका टुक्रा तथा अन्य प्रमाण फेला परेका थिए।

अदालतमा बयान दिने क्रममा नरेशले ममताको मृत्यु भएको र उनको शवलाई आराले टुक्रा पारेर विभिन्न फोहोरका झोलामा राखी फालेको स्वीकार गरेका थिए। तर उनले ममताको हत्या आफूले नगरेको र उनको मृत्यु आफैँले विष सेवन गरेका कारण भएको दाबी गरेका थिए।

अभियोजन पक्षले भने विभिन्न प्रमाण, निगरानी दृश्य, दूरभाष विवरण तथा वैज्ञानिक परीक्षणका आधारमा नरेशले नै ममताको हत्या गरेको जिकिर गरेको थियो।

यस घटनामा सबैभन्दा दुःखद पक्ष के छ भने ममताको शव हालसम्म पनि फेला परेको छैन।

नरेशलाई हत्याको अभियोगमा बीस वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ। अन्य दुई अभियोगमा समेत थप सजाय हुन सक्ने व्यवस्था छ। उनको सजाय निर्धारण आगामी मार्च १२ मा हुने तय भएको छ। दोषी ठहर भएपछि अदालतले उनको धरौटीसमेत रद्द गरेको छ।

यस घटनाले नेपाल तथा विदेशमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ। लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका ममताका परिवारका लागि अदालतको यो निर्णय महत्वपूर्ण बनेको छ।