काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अमेरिकामा लगाइएको देशव्यापी उडान प्रतिबन्ध हटाइयो

903
shares

काठमाडौं । अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए)ले देशभरका विमानस्थलमा लगाएको उडान प्रतिबन्ध हटाएको छ । दूरसञ्चार प्रणालीमा आएको प्राविधिक समस्याका कारण हजारौं उडान प्रभावित भएपछि शुक्रबार लगाइएको देशव्यापी प्रतिबन्ध हटाइएको हो ।

अमेरिकी यातायात सचिव सीन डफीले पत्रकार सम्मेलनमार्फत उडान प्रतिबन्ध हटाइएको जानकारी दिएका हुन् । उनका अनुसार हवाई यातायात नियन्त्रण केन्द्र तथा टर्मिनल राडार प्रणालीमा देखिएको अस्थिरता क्रमशः व्यवस्थापन गरिएको छ ।

डफीका अनुसार स्थानीय समयअनुसार दिउँसो ३ बजेर ३६ मिनेटमा देशभरका हवाई यातायात नियन्त्रण केन्द्रमा राडार तथा सञ्चार प्रणालीमा समस्या देखिएको थियो । विमानबाट प्राप्त हुने सञ्चार संकेत र राडारको तथ्यांकमा असंगति देखिएपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै उडान रोक्ने निर्णय गरिएको थियो ।

उडान रोक्ने आदेश जारी हुँदा ३ हजार ५०० भन्दा बढी विमान आकाशमा थिए । ती विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सम्बन्धित निकायले समन्वय गरेका थिए । पत्रकार सम्मेलनका समयमा ४०० भन्दा कम विमान मात्रै आकाशमा रहेको डफीले जानकारी दिए ।

दूरसञ्चार प्रणालीमा आएको समस्याका कारण करिब ७ हजार उडान ढिलाइ वा रद्द भएको उडान ट्र्याकिङ प्लेटफर्म फ्लाइटअवेयरले जनाएको छ । डफीले अमेरिकाको हवाई यातायात नियन्त्रण प्रणालीमा प्रयोग भइरहेको पुरानो एनालग दूरसञ्चार प्रविधिका कारण समस्या उत्पन्न भएको बताएका छन् । अत्यधिक डेटा प्रवाह हुँदा पुराना राउटर तथा स्विचहरूले असंगत तथ्यांक प्रसारण गर्न थालेपछि उडान रोक्नुपरेको उनको भनाइ छ ।

उनले हवाई यातायात नियन्त्रण प्रणालीको पूर्ण आधुनिकीकरणका लागि कंग्रेससँग पर्याप्त बजेट माग गरेका छन् । सामान्य मर्मतले मात्रै समस्या समाधान नहुने भन्दै उनले नयाँ प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् ।

यसैबीच, अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले उक्त घटना साइबर आक्रमण वा राष्ट्रिय सुरक्षा खतराका कारण भएको कुनै प्रमाण अहिलेसम्म नदेखिएको बताएका छन् । उनले माइक्रोसफ्टको प्राविधिक अवरोधसँग पनि यस घटनाको सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।उडान अवरोधका कारण यात्रुलाई आवश्यक औषधि तथा अन्य सहयोग उपलब्ध गराउन संघीय आपत्कालीन व्यवस्थापन निकाय (फेमा)ले सहायता केन्द्र सक्रिय बनाएको पनि उनले जानकारी दिए । यस घटनाले अन्तर्राष्ट्रिय उडानमा समेत असर पारेको छ । एयर इन्डियाले अमेरिकाका विमानस्थलमा उडान रोकिँदा अमेरिका जाने तथा त्यहाँबाट फर्किने आफ्ना उडान प्रभावित हुन सक्ने भन्दै यात्रुलाई विमानस्थल जानुअघि उडानको अवस्था जाँच गर्न आग्रह गरेको छ । एएनआई