काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुदूरपश्चिमको पर्यटन विकासका लागि ‘बाँकाबीर नागरिक सरकार’ गठन गर्ने घोषणा

1.89K
shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पर्यटन, शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रको विकासका लागि ‘बाँकाबीर नागरिक सरकार’ गठन गर्ने घोषणा गरिएको छ । करीब एक दशकदेखि सूदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा कामगर्दै आएका नवल सिंह रावल फाउन्डेसनका अध्यक्ष तपेन्द्र रावलले कैलालीको कर्णाली चिसापानीमा आयोजित कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।

रावलका अनुसार उक्त नागरिक सरकारको प्रमुख अर्थात् प्रधानमन्त्री अनलाइन निर्वाचनमार्फत चयन गरिनेछ । यसका लागि इच्छुक व्यक्तिले उम्मेदवारी दिन सक्ने र सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति नागरिक सरकारको प्रधानमन्त्री बन्ने उनले बताए ।

नागरिक सरकारको निर्वाचनका लागि मंसिर १ गते राति १ बजेर १ मिनेटसम्म गुगल फर्ममार्फत आवेदन दिन सकिने रावलले जानकारी दिए । उम्मेदवारले आफ्नो नाम, स्थायी ठेगाना, शैक्षिक योग्यता, सामाजिक क्षेत्रमा गरेको काम, सम्पर्क नम्बर र फोटोसहित आवेदन दिनुपर्नेछ । साथै, आफू किन नागरिक सरकारको प्रधानमन्त्री बन्न चाहेको हो भन्ने विषय ५० शब्दभित्र खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।

उनका अनुसार मंसिर २ गते दिउँसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । मंसिर १० गते बिहान १० बजेर १० मिनेटदेखि अनलाइन मतदान सुरु हुनेछ । सोही दिन साँझ ५ बजे नतिजा सार्वजनिक गरी निर्वाचित व्यक्तिलाई शपथ गराउने कार्यक्रम तय गरिएको छ ।

रावलले यो नागरिक सरकार समानान्तर सरकार नभई राज्यका संरचनालाई सहयोग गर्ने नमुना अवधारणा भएको बताए । यो सरकारको काम सरकारसँग प्रतिस्पर्धा गर्ने वा राजनीतिक दलविरुद्ध गतिविधि गर्ने नभई सुदूरपश्चिमको विकासका लागि रचनात्मक सुझाव, अनुसन्धान र नवीनतम कार्यक्रम अघि बढाउने हुने उनको भनाइ छ ।

‘हामी कसैसँग लडाइँझगडा गर्न नागरिक सरकार गठन गर्न लागेका होइनौँ । सुदूरपश्चिमको गरिबी कसरी घटाउने, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको अवस्था कसरी सुधार गर्ने भन्ने उद्देश्यले यो अवधारणा ल्याइएको हो,’ उनले भने ।

नागरिक सरकारले मुख्यतः शिक्षा, कृषि, पर्यटन र स्वास्थ्य गरी चार क्षेत्रमा काम गर्ने रावलले बताए । यसका लागि विश्वभरका अभ्यास र अनुसन्धानलाई उपयोग गर्दै कृत्रिम बौद्धिकता (एआई) तथा डिजिटल प्रविधिको प्रयोग गरिने उनको भनाइ छ ।

कार्यक्रममा उनले सुदूरपश्चिममा राज्यबाट विभेद भएको दाबी गर्दै क्षेत्रीय पहिचान, पर्यटन पूर्वाधार र स्थानीय स्रोतसाधनको उपयोगका विषयलाई अभियानको प्राथमिकतामा राखिएको बताए । यसअघि पनि आफूले छ वर्षदेखि सुदूरपश्चिमको पर्यटन तथा विकासका मुद्दा उठाउँदै आएको उनले उल्लेख गरे ।

रावलले कर्णाली चिसापानीदेखि बाँका क्षेत्रसम्म नदीमा पानीजहाज सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरे । आगामी तीन महिनाभित्र उक्त क्षेत्रमा पानीजहाज सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ । यसले चिसापानी र आसपासका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई जोड्दै पर्यटन गतिविधि विस्तार गर्न सहयोग पुग्ने उनले बताए ।

उनका अनुसार चिसापानीबाट करिब पाँच किलोमिटर उत्तरतर्फ निर्माण गरिएको बाँकाबीर ऐतिहासिक तथा सांस्कृतिक पर्यटन पार्कलाई समेत यस अभियानसँग जोडिनेछ । सुदूरपश्चिमका ऐतिहासिक व्यक्तित्व र सम्पदाको पहिचान स्थापित गर्ने उद्देश्यले बाँकाबीर अभियान अघि बढाइएको उनले बताए ।

यसैगरी, नवल सिंह रावल फाउन्डेसनले संस्थापक, आजीवन र विशिष्ट सदस्यता खुला गरेको जानकारी पनि उनले दिए । संस्थापक सदस्यताका लागि ५०० रुपैयाँ, आजीवन सदस्यताका लागि एक हजार रुपैयाँ र विशिष्ट सदस्यताका लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको उनले बताए ।

फाउन्डेसनले विभिन्न अस्पताल, पर्यटन व्यवसायी तथा स्थानीय उत्पादनसँग सहकार्य गरी सदस्यलाई सेवा तथा सुविधामा छुट उपलब्ध गराउने योजना बनाएको उनको भनाइ छ । सदस्यता प्रदान गर्दा आवेदकको सामाजिक, नैतिक तथा आर्थिक आचरणसमेत परीक्षण गरिने उनले बताए ।

रावलले सुदूरपश्चिमका युवालाई स्वदेश तथा विदेश जहाँ भए पनि डिजिटल माध्यमबाट अभियानमा सहभागी हुन आह्वान गरेका छन् । नागरिक सरकारको निर्वाचनलाई कम खर्चिलो र प्रविधिमा आधारित नमुना अभ्यासका रूपमा अघि बढाउन खोजिएको उनको भनाइ छ ।

को हुन बाँकाबीर ?

बाँकाबीरका नामले परिचित बलदेव शाह सुदूरपश्चिमको अछामका ऐतिहासिक व्यक्तित्व हुन् । जंगबहादुर राणाको शासनकालमा अछामको बान्नीगढीमा स्थापित सैनिक क्याम्पबाट स्थानीयमाथि भएको भनिएको अत्याचारको विरोधमा उनले विद्रोहको नेतृत्व गरेका थिए ।

राणा सैनिकको घेराबन्दीबाट बच्न जंगलमा लुकेर संघर्ष गरेका उनले खाद्यान्न अभावमा ‘बाँको’ नामक वनस्पति खाएर जीवन निर्वाह गरेको किंवदन्ती छ । यही कारण उनलाई ‘बाँको खाने वीर’ अर्थात् बाँकाबीर भनिएको इतिहासमा उल्लेख पाइन्छ । वि.सं. १९०६ तिर षड्यन्त्रपूर्वक उनको हत्या गरी टाउको काटेर काठमाडौं पु¥याइएको विवरणसमेत पाइन्छ । अध्यक्ष रावलले बाँकाबीरलाई नेपालको पहिलो सहिदका रुपमा मान्यता दिनुपर्ने विषयमा लामो समयदेखि सरकारसँग माग गर्दै आएका छन् ।