काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनभिडियाका सीईओ जेन्सन हुआङले दिए राजीनामा, कोलेट क्रेस अन्तरिम सीईओ नियुक्त

882
shares

काठमाडौं । विश्वकै प्रमुख एआई चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सन हुआङले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक समितिको सदस्य पदबाट राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिले बिहीबार हुआङको राजीनामा तत्काल लागू हुने गरी स्वीकृत गरेको हो ।

हुआङको राजीनामापछि कम्पनीकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको छ । एनभिडियाको सञ्चालक समितिका अनुसार क्रेसले स्थायी सीईओ नियुक्त नभएसम्म अन्तरिम नेतृत्व सम्हाल्नेछिन् । उनले अन्तरिम सीईओको जिम्मेवारीसँगै सीएफओ पदसमेत कायम राख्नेछिन् । कम्पनीले स्थायी सीईओ नियुक्तिका लागि आन्तरिक तथा बाह्य उम्मेदवारको खोजी सुरु गर्ने जनाएको छ ।

क्रेस सन् २०१३ देखि एनभिडियाको कार्यकारी उपाध्यक्ष तथा सीएफओका रूपमा कार्यरत छिन् । कम्पनीको वित्तीय व्यवस्थापन र व्यावसायिक विस्तारमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् । यसअघि उनले सिस्को र माइक्रोसफ्टजस्ता प्रविधि कम्पनीमा वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ ।

हुआङले सन् १९९३ मा एनभिडिया स्थापना गरेका थिए । उनको नेतृत्वमा कम्पनी ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) उत्पादनबाट कृत्रिम बौद्धिकता (एआई) प्रविधिका लागि आवश्यक चिपको विश्वकै प्रमुख आपूर्तिकर्तामध्ये एक बनेको थियो । एनभिडियाको सञ्चालक समितिले कम्पनी र प्रविधि उद्योगमा हुआङले पु¥याएको योगदानको प्रशंसा गर्दै धन्यवाद दिएको छ ।

यसैबीच, कम्पनीले हार्भे सी जोन्सलाई सञ्चालक समितिको पहिलो अध्यक्ष नियुक्त गरेको छ । उनी सन् १९९३ देखि एनभिडियाको सञ्चालक समितिमा आबद्ध छन् । हुआङको बहिर्गमनसँगै विश्व एआई उद्योगको प्रमुख कम्पनीमध्ये एक एनभिडियाको नेतृत्वमा परिवर्तन आएको छ । कम्पनीले भने नेतृत्व परिवर्तन भए पनि सञ्चालन, ग्राहकप्रतिको प्रतिबद्धता र प्रविधि विकासको योजनामा निरन्तरता रहने जनाएको छ । दुई महिलासँग विवाहबाहिरको सम्बन्ध रहेको समाचार सार्वजनिक भएपछि हुआङको व्यक्तिगत आचरण र कम्पनीको नेतृत्वमाथि थप प्रश्न उठेको थियो ।

यसैबिच अर्को एक कर्मचारीसँग पनि उनको अन्तरंग सम्बन्ध रहेको खुलासा भएको छ । रोयटर्सका अनुसार यस विषयमा जानकार दुई व्यक्तिले हुआङको कम्पनीकै अर्की एक कर्मचारीसँग पनि सम्बन्ध रहेको बताएका छन् । यसअघि द वाल स्ट्रिट जर्नल र द न्युयोर्क टाइम्स ले हुआङको अन्य महिलासँगको कथित सम्बन्धबारे समाचार प्रकाशित गरेका थिए । यसअघि सार्वजनिक भएका विवरणमा हुआङको सम्बन्ध एनभिडियाकी उपाध्यक्ष किम्बर्ली पावेल र चिनियाँ व्यवसायी एलिस हुआङसँग रहेको दाबी गरिएको थियो । सीसीटीभी र एएनआईको सहयोगमा