घाइते पूर्वलडाकुको अनसन फिर्ता
वि.सं.२०७५ पुस १० मंगलवार ०१:२७
shares

घाईते पूर्वलडाकुहरुले अनसन फिर्ता लिएका छन् । सरकारसँग चार बुँदे सहमतिपछि उनीहरुले सोमबार साँझ अनसन तोडेका हुन् । घाइते र अपांग पूर्वलडाकुको उपचार सरकारले निःशुल्क गर्नेलगायतका सहमतिपछि अनसन तोडिएको घाईते लडाकुहरुले जनाएका छन् ।
दुबै पक्षका प्रतिनिधिबीच गृहमन्त्रालयमा सोमबार वार्ता भएको थियो । वार्तामा गम्भीर घाइते तथा तत्काल उपचार गर्नुपर्ने घाइते, अपांगहरुको उपचार तत्काल सुरु गर्ने, नेपाल मेडिकल बोर्डले देशबाहिर उपचार गर्न सिफारिस गरेका घाइते अपांगलाई तत्काल उपचारका लागि पहल गर्ने, घाइते, अपांगहरुको अनसन र उपचारको क्रममा भएको खर्च सरकारले ब्यहोर्ने सहमति भएको छ ।
यस्तै थुनामा रहेका पूर्वलडाकु युवराज विकलाई सोमबार रिहा गर्ने सहमति भएको छ । सहमतिपत्रमा सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव इन्दू घिमिरे र पूर्वलडाकुको तर्फबाट पदमराज परियार, प्रेमराज गिरी, नरबहादुर रोका, चन्द्रप्रकश विक, पार्वती पुनले हस्ताक्षर गरेका छन् ।

























