प्रदेश-२ : दुई हजार सामुदायिक विद्यालय दुई दिनदेखि बन्द
वि.सं.२०७५ पुस १२ बिहीवार १९:४५
shares

प्रदेश-२ का ८ वटै जिल्लाका सामुदायिक विद्यालय २ दिनदेखि बन्द भएका छन् । शिक्षकहरुको आन्दोलनका कारण विद्यालयको पठन पाठन प्रभावित भएको हो ।
शिक्षक सेवा आयोगले लिएको परीक्षामा अनुत्तिर्ण भएका शिक्षकलाई हटाउन नमिल्ने भन्दै शिक्षकहरू आन्दोलित भएका हुन् । अनुत्तिर्ण भएका शिक्षकहरूलाई हटाउन नमिल्ने भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका अस्थायी शिक्षकहरुलाई पुनर्वहालीको माग राख्दै आन्दोलन गर्दै आइरहेका छन् । शिक्षकहरुको विभिन्न संघ, संगठनसँग आवद्ध ब्यानरहरुको संयुक्त संघर्ष समितिमार्फत आन्दोलन गर्दै आएको छ ।
विगतमा भएका सम्झौताहरु लत्याउँदै शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुलाई विस्थापित गर्न परीक्षाको कापी जाँचमै कडाई गरेको नेपाल शिक्षक महासंघका राष्ट्रिय उपाध्यक्ष समेत रहेका संयुक्त शिक्षक संघर्ष समितिका अध्यक्ष लालबावु यादवको आरोप छ ।
संयुक्त शिक्षक संघर्ष समितिको अनुसार पहाडका जिल्लाहरुमा शतप्रतिशत रिजल्ट आएको भए पनि मधेसमा त्यो हुन नसकेको उनको आरोप थियो । उनका अनुसार पहाडी जिल्लामा ८० प्रतिशत भन्दा कम रिजल्ट आएको छैन तर तराइ मधेशका युवाहरु पहिल्यैदेखि शिक्षण पेशामा वर्चस्वमा रहँदै आएकाले नियतवश तराइको जिल्लाका शिक्षकहरुलाई फेल गराउने हिसाबले कडाइका साथ कापी चेक गरि फेल गराएको उनको दावी छ ।
संघर्ष समितिका अध्यक्ष यादवका अनुसार शिक्षक सेवा आयोगले गरेको गलतीले २ हजार ८ सय शिक्षकलाई जबरजस्ती फेल गराइएको छ । २ हजार ८ सय वस्तुगत प्रश्नमा कोड नम्बर उल्लेख थिएन, त्यसैले त्यस्ता वस्तुगत प्रश्न पत्र पाएका शिक्षकहरुले कोड नम्बर लेख्ने कुरै भएन तर आयोगले आफैले गरेको गल्ती भए पनि त्यसको भागीदार शिक्षकलाई बनाएको उनले बताए । त्यस्ता कापीलाई रद्द गरिएकाले नियतवश हजारौं शिक्षक स्वतः फेल भएको उनको दावी छ ।
अस्थायी शिक्षकहरुलाई सरकारले विज्ञापन र परीक्षाको बहानामा विस्थापित गर्न खोजेकाले आफूहरु आन्दोलित भएको नेपाल शिक्षक संघ प्रदेश-२ का अध्यक्ष मेघनाथ यादवले बताए । अस्थायी शिक्षकहरुलाई व्यवस्थापन गर्न केही दिनअघि आयोगले लिएको परीक्षाको परिणाम सार्वजनिक भइसकेको छ ।
उक्त परीक्षा उतीर्ण भएका अस्थायी शिक्षकहरुलाई यथावत राख्दै अनुतीर्ण भएकाहरुलाई सरकारले गोल्डेन ह्याण्डसेक उपलब्ध गराउने निर्णय गरिसकेको छ । तर विज्ञापन र ह्याण्डसेकको नाममा सरकारले आफूहरुलाई विस्थापित गर्ने षडयन्त्र गरेको उनीहरुको आरोप छ ।
प्रदेश २ मा कार्यरत करिब तीन हजार अस्थायी शिक्षकमध्ये २ सयले आयोगले लिएको परीक्षा बहिष्कार गरेका थिए ।
तत्काल प्रदेश-२ बाट सुरु गरिएको आन्दोलनको समीक्षा गर्दै आगामी आन्दोलनको कार्यक्रम सार्वजानिक गर्दै देशभर नै आन्दोलन गर्ने संयुक्त शिक्षक सघर्ष समितिका अध्यक्ष लालबाबु यादवले जानकारी दिए ।

























