कास्कीमा वृद्धको हत्याको अभियोगमा बाबुछोरा पक्राउ
वि.सं.२०७५ पुस १७ मंगलवार १३:०८
shares

बाबुछोरा मिलेर कास्कीमा एक वृद्धको हत्या गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पर्वत मोदी गाउँपालिका–२, देउपुर स्थायी घर भएका ७३ वर्षीय दिलबहादुर सार्कीको हत्याको आरोपमा कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, क्लिउका बाबुछोरासहित एकै घरका तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा क्लिउका ३१ वर्षीय बुद्धिमान सार्की, उनका ६० वर्षीय बुबा निमबहादुर सार्की र ७२ वर्षीय माइलो बुवा लालसिंह सार्की छन् । मादक पदार्थ सेवन गरेका कारण आफ्नै साथीहरुबाट वृद्धको हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए । पुस १४ गते अन्नपूर्ण गाउँपालिका–१०, खुम्बु्रखु स्थित मोदी खोलामा दिलबहादुरको शव शंकास्पद रुपमा भेटिएपछि प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्न तीन जनालाई पक्राउ गर्न सफल भएको एसपी रानाले जनाए ।
पुस ८ गते मृतक दिलबहादुर लगायत चारै जना बसेर मदिरा सेवन गरेको र मृतकले अपशब्द प्रयोग गरेपछि तीनजनाले संयुक्त रुपमा कुटपिट गरी उनको हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी रानाले बताए । पुस ८ गते साँझ संयुक्त रुपमा कुटपिट गरी उनलाई मारेपछि रातको समयमा घरबाट तल झोलुंगे पुलमा लगेर मोदी खोलामा फालेको हत्याको आरोपमा पक्राउ परेकाहरुले बयान दिएको प्रहरीको दाबी छ ।

























