मेगा बैंकका ग्राहकलाई अब विशेष सुविधा
वि.सं.२०७५ पुस १७ मंगलवार २१:३१
shares

मेगा बैंक नेपालले राजधानीका आठ शाखामा ग्राहकका लागि मंगलबारबाट विशेष सुविधा सुरु गरेको छ । बैंकमा सेवा लिन आउने ग्राहकको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थप गरेको हो । उनीहरुलाई ग्राहकको बैंकिङ आवश्यकतालाई हेरविचार गर्ने विशेष जिम्मेवारी दिइएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीभित्रका आठवटा शाखामा नमुनाका रुपमा सुरु गरिएको यो सुविधा क्रमशः अन्य शाखामा पनि विस्तार गरिने मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले जानकारी दिइन् । ‘हामीले ग्राहकको विश्वास जित्दै अघि बढ्दै भन्ने मूलमन्त्र बनाएका छौं । तसर्थ, हरेक ग्राहक हाम्रा लागि मूल्यवान हुनुहुन्छ । उहाँहरुलाई बैंकमा आउँदा कुनै अप्ठ्यारो परे तत्कालै हेरविचार होस् र सेवा सुविधा लिन सहज होस् भन्ने उद्देश्यले यो सुविधा सुरु गरेका हौं,’ उनले भनिन् ।
‘मेगा कस्टमर केयर अफिसर’ले मेगा बैंकको शाखा कार्यालयमा पुग्ने ग्राहकलाई स्वागत गर्नुका साथै उनीहरुका समस्या, गुनासो र सुझाव सुनेर त्यसलाई बैंकका सम्बन्धित शाखासँग समन्वय गर्नेछन् । जसले ग्राहकलाई बिनाझन्झट र छिटोछरितो सेवा लिन मद्दत पुग्ने मेगा बैंकको विश्वास छ ।

























