global ime bank Long Banner Ad

गृहपृष्ठ शिक्षकदेखि प्रदेश प्रमुखसम्म प्यासी

शिक्षकदेखि प्रदेश प्रमुखसम्म प्यासी

शिक्षकदेखि प्रदेश प्रमुखसम्म प्यासी

कास्कीका कम्युनिष्ट नेता सोमनाथ अधिकारी (प्यासी) प्रदेश नं १ को प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । नेपालको वामपन्थी आन्दोलनमा लामो समय सङ्घर्ष गरेका प्यासी शिक्षक हुँदै प्रदेश प्रमुखसम्मको जिम्मेवारीमा पुगे ।

विसं २०१८ मा पोखराको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दाखेरी बालसङ्गठनको सभापति चुनिनुभएका प्यासी त्यसयताको झण्डै छ दशकको सङ्घर्षपछि प्रदेश प्रमुखमा नियुक्त भएका हो । पिता लीलाधर र माता सावित्रीको कोखबाट मध्यमवर्गीय किसान परिवारमा विसं २००७ मा जन्मेका प्यासी बाल्यकालदेखिनै शोषक, सामन्त तथा समाजमा हुने थिचोमिचो र अन्यायका विरुद्ध उभिए ।

जीवनको लामो कालखण्ड सामाजिक परिर्वतन तथा कम्युनिष्ट राजनीतिमा व्यतित गरेका उनी बाल्यकालदेखि नै राजनीतिक चेतना विकास भएको थियो । सभापति बनेसँगै भाषण गर्ने, गीत गाउने तथा जनताका पीडालाई गीत–सङ्गीतका माध्यमबाट समेत उनले उजागार गर्न थाले । विन्ध्यावासिनीमा शिक्षण पेशा गर्ने अधिकारीले जनतालाई थिचोमिचो गर्ने जाली–फटाहाको विरुद्धमा लाग्नुपर्दछ भन्ने थप प्रेरणा प्राप्त गरेका थिए ।

विन्ध्यवासिनीमा पढ्दा त्यहीकै एक जमीनदारले विद्यालयको जमीन मिचेर पर्खाल लगाउन थालेपछि अधिकारीले सो पर्खाल भत्काउने कार्यको नेतृत्व गरे । त्यस घटनामा उनलाई मुद्दा हालियो । तत्कालीन अञ्चलाधीश नन्दबहादुर मल्लको निवासमा विद्यालयको जमीन मिच्नेका विरुद्धमा डटेर आफ्ना कुरा राखेपछि अधिकारीको भनाइबाट अञ्चलाधीशसमेत प्रभावित भएर ठीक छ भनेपछि उनी त्यहाँबाट फर्किएको उनले स्मरण गरे ।

अधिकारीले भने, ‘मैलै जसरी विद्यालयको जमीन मिचेर पर्खाल लगाउने कार्यको विरोधमा नेतृत्व गरेँ त्यसमा सफल भएपछि मलाई जहिले पनि अन्याय, अत्याचारका विरुद्ध लाग्नुपर्दछ भन्ने साहस पैदा भयो ।’ अधिकारीले विसं २०२४ मा कक्षा १० परीक्षा पास भएलगत्तै कास्कीको ढिकुरपोखरीस्थित धारापानी माविमा शिक्षण शुरु गरेका थिए । त्यति नै बेला पुष्पकमल सुवेदी, मोदनाथ रेग्मी, दामोदर रेग्मीलगायतसँग सम्पर्क भएपछि उनले माक्र्सवादी अध्ययन दलमा आवद्ध भएर कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।

विसं २०२८ मा पृथ्वीनारायण क्याम्पसमा अध्ययनका लागि भर्ना भएका अधिकारी प्रगतिशील प्यानलबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित भए । पृथ्वीनारायण क्याम्पसबाटै अधिकारीले राजनीतिक शास्त्रमा प्रवीणता प्रमाणपत्र तह र अङ्ग्रेजी विषयमा बीएडसम्मको अध्ययन गरे । अधिकारीले विसं २०३१ मा म्याग्दीको दरवाङ्ग, दोभाका जनप्रिय मावि र भानु निमावि, विसं २०३९ देखि २०४१ सम्म नवलपरासीको कोल्छवा माविमा शिक्षण गर्दै राजनीतिलाई निरन्तरता दिएका थिए ।

‘स्ववियु सभापति बनेबाट आफ्नो वर्गीय राजनीति शुरु भएको, जेलनेल र गिरफ्तारीको क्रम शुरु भयो’, अधिकारीले सम्झिए । राधिकापुरको बाटो भारतले बन्द गर्दा त्यसको विरुद्धमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरे । यसकार्यमा उहाँले सबै पञ्चलाई समेत विश्वासमा लिन सफल भए । अधिकारीले लिएको विचारप्रति सहमत नभए पनि उनको देशभक्तिपूर्ण राजनीतिप्रति भने पञ्चसमेत प्रभावित भए ।

कम्युनिष्ट पार्टीमा आवद्ध भएपछि उनले गाउँगाउँमा जनतालाई पञ्चायती शासन व्यवस्थाका विरुद्धमा जागरुक बनाउँदै वर्गीय आचरणअनुसार जाली–फटाहाका तमसुक च्यात्ने काममा सक्रियता देखाउँदै आफूलाई शोषित, पीडित जनताको पक्षमा समर्पित गरे । उनले परिर्वतनका पक्षमा आफूलाई उभ्याउँदै गर्दा अनेकौँ पीडा र यातना तथा पाँच वर्ष जति जेल जीवन व्यतित गरेर ६० पटकभन्दा बढी गिरफ्तार भएको तथा एकै दिनमा तीन पटकसम्म प्रहरीले पक्राउ गरेको विगतको स्मरण गरे ।

पार्टीका नेताका बारेमा सूचना पाउन प्रहरीले उनलाई नङमा किला घोच्ने, पैतालामा पिट्ने, अनेक मनोवैज्ञानिक त्रास देखाउँदासमेत अधिकारी कहिल्यै विचललित भएनन् ।

जोमसोममा प्रहरीले बयानका क्रममा बोरामा बाँधेर काली नदीमा डुबाउँदासमेत उनले पार्टी र नेतृत्वप्रति विश्वासघात गरेनन् । विसं २०२५ मा नेकपा माक्सवादी लेलिनवादी क्रान्तिकारी कम्युनिष्ट दल गण्डकी धवलागिरिको संस्थापक सदस्य, विसं २०२९÷३० मा कास्की सचिव, विसं २०३५ मा पृथ्वीनाराण क्याम्पसमा पुनः स्ववियु सभापति, अनेरास्ववियुको पश्चिमाञ्चल क्षेत्रीय कमिटीको अध्यक्ष, केन्द्रीय कमिटीको उपाध्यक्षलगायतका जिम्मेवारी उनले पूरा गरे ।

विसं २०४३ मा लोकप्रिय मतका साथ उहाँ कास्कीबाट राष्ट्रिय पञ्चायतको सदस्य तथा २०४८ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । विसं २०५२, २०५४, २०५६ तथा २०६० मा अधिकारी नेकपा (एमाले) कास्कीको सचिव चुनिए । विसं २०६४ मा पार्टीको केन्द्रीय लेखा आयोगको सदस्य तथा विसं २०६८ मा केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा निर्वाचित भएका प्रदेश प्रमुख अधिकारी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नेकपाको स्थायी कमिटी सदस्य भए । (हरि बाँस्तोला र कृष्ण दवाडी/रासस)

प्रकाशित समय : १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु