गृहपृष्ठ अमेरिका पेरिस सम्झौताबाट बाहिरिन प्रक्रिया सुरु
अमेरिका पेरिस सम्झौताबाट बाहिरिन प्रक्रिया सुरु
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका बाहिरिने निश्चित भएको छ । अमेरिकाले पेरिस सम्झौताबाट बाहिरिन संयुक्त राष्ट्रसंघलाई औपचारिक जानकारी गराएको छ ।
औपचारिक रुपमा जानकारी गराएसँगै अमेरिका पेरिस सम्झौताबाट बाहिरिन प्रक्रिया सुरु भएको छ । प्रक्रिया पूरा हुन एक वर्ष लाग्नेछ ।
पेरिस सम्झौताले आर्थिक भार थपेको अमेरिकाको स्पष्टोक्ति छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सम्झौताले अमेरिकामाथि असमान आर्थिक भार थपेको विगतदेखि नै बताउँदै आएका छन् ।
सन् २०१५ मा भएको पेरिस सम्झौतामा विश्वका १८८ देशले जलवायु परिवर्तनको प्रभाव नियन्त्रणका लागि संयुक्त प्रयास गर्ने सहमति जनाएका थिए । पेरिस सम्झौताअनुसार अमेरिकासहित विश्वका १८८ देश विश्वव्यापी तापमान वृद्धि २ डिग्री सेल्सियस कायम गर्ने र त्यसका लागि आवश्यक सबै पहल गर्नेमा सहमत भएका थिए ।
अमेरिका पेरिस सम्झौताबाट बाहिरिँदा विश्वले ठूलो क्षति व्यहोर्नुपर्ने तथ्य र अध्ययनहरू बाहिर आइसकेका छन् । अमेरिकाकै कारण रुस तथा टर्कीले सम्झौतलाई अनुमोदन गर्न अस्वीकार गरिरहेका छन् । (एजेन्सी)
प्रकाशित समय : १४:०१ बजे



















