आलमको बयान सकियो, ५१ वटा प्रश्नमध्ये एउटाको मात्र साविती बयान
वि.सं.२०७६ कात्तिक २१ बिहीवार १९:३८
shares

दर्जनभन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताव आलमको बयान सकिएकाे छ । जिल्ला अदालत रौतहटमा तीन दिनदेखि जारी बयान बिहीबार सकिएकाे हाे ।
तेस्रो दिन आलमलाई साेधिएका ५१ प्रश्नमध्ये उनले ५० वटाकाे इन्कारी बयान दिएका छन् । उनले अधिकांश प्रश्नकाे जवाफ दिने क्रममा ‘थाहा छैन’, ‘हाेइन’ मात्र भनेका छन् ।
तत्कालीन समयमा सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो ? भन्ने प्रश्नमा मात्रै उनले ‘हो, त्यसबेला मुद्दा नचलाउने निर्णय भएको थियो’ भनेका थिए । आलमले दिएकाे बयानमध्ये यही मात्र साविती बयान भएकाे छ ।
आलमकाे बयान सकिएसँगै थुनछेककाे बहस पनि आजैंदेखि सुरू हुने अदालत प्रशासनले जनाएकाे छ । पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी ओमप्रकाश अर्याल दिनेश त्रिपाठी डा. कुमार शर्मा आचार्यले बहस गर्नेछन् । प्रतिवादी आलमको पक्षबाट वकालत गर्न वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरे (भुषण) रौतहट पुगेका छन् ।
ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले आलमविरूद्ध मुद्दा दर्ता गराएकाे हाे । १२ वर्षअघि २०६४ चैत २७ गते राजपुरमा भएको बम विस्फोट र विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा आलमलाई प्रहरीले असोज २६ गते पक्राउ गरेको थियो ।

























