काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आजको मौसमः पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहने

403
shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ।

दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

हिमाली भू-भागका थोरै तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भाग र बागमती, गण्डकी तथा कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी प्रदेशका सबै भू-भाग तथा देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। तराई भू-भागमा आंशिक बादल लाग्नेछ भने बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। तराई भू-भागका एक-दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भाग र बागमती, गण्डकी तथा कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

विशेषगरी कृषि कार्यमा संलग्न सर्वसाधारण तथा सम्बन्धित सरोकारवाला निकायलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित जानकारी लिएर आवश्यक तयारी र योजना बनाउन महाशाखाले अनुरोध गरेको छ।