काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अर्ग्यानिक उत्पादनको प्रमाणीकरण स्वदेशमै गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री शाहको निर्देशन

1.31K
shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था स्वदेशमै मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार अर्ग्यानिक एसोसिएसन नेपालका पदाधिकारीसँग भएको छलफलमा उनले यस्तो निर्देशन दिए।

नेपालमै अन्तरराष्ट्रिय मान्यताप्राप्त अर्ग्यानिक प्रमाणीकरण प्रणाली स्थापना गर्न आवश्यक पहल गरिने बताउँदै उनले अर्ग्यानिक उत्पादनको प्रमाणीकरण स्वदेशभित्रै हुने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए।

अर्ग्यानिक उत्पादनको अन्तरराष्ट्रिय प्रमाणीकरण प्रक्रिया महँगो भएकाले सरकारले नियन्त्रणमा रहने अन्तरराष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना गर्न व्यवसायीहरूले माग राखे। प्रमाणीकरणमा दिइँदै आएको ७५ प्रतिशतसम्मको अनुदान पुनः सञ्चालन गर्न पनि उनीहरूले आग्रह गरे।

सो मागप्रति सरकार सकारात्मक रहेको प्रधानमन्त्री शाहले बताए। अनियन्त्रित रासायनिक मल तथा विषादीको प्रयोग नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्द्धनका लागि आवश्यक कदम चालिने पनि उनले बताए।

प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारीलाई अनुदान उपलब्ध गराउने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै उनले अर्ग्यानिक मलको उत्पादन वा खरिदमा पनि रासायनिक मलसरह सुविधा उपलब्ध गराउने विषयमा सरकार सकारात्मक रहेको बताए।

अर्ग्यानिक उत्पादन निर्यातमा दिइँदै आएको अनुदान दुई वर्षदेखि रोकिएको विषय कानुनी रूपमा समाधान गर्न सम्बन्धित मन्त्रालयले कार्यविधि तयार गरिरहेको पनि उनले बताए।

छलफलमा अर्ग्यानिक एसोसिएसन नेपालका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, गोर्खा टी–इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन साङ्ग्रिला टी–फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली, अन्नपूर्ण अर्ग्यानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष पर्शुराम आचार्यलगायतको सहभागिता थियो।