गृहपृष्ठ नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार सक्रिय : अर्थमन्त्री वाग्ले
नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार सक्रिय : अर्थमन्त्री वाग्ले
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताए। कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल चाँडै ग्रे लिस्टबाट बाहिरिने विश्वास पनि उनले बताए।
आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा आज देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनले पनि गम्भीरतापूर्वक निगरानी गर्नुपर्नेमा जोड दिए।
कर प्रशासकहरूको वृत्तिविकास, कार्यसम्पादन र राज्यलाई पुर्याएको योगदानका आधारमा मूल्याङ्कन तथा प्राथमिकता दिइने बताउँदै उनले कर सङ्कलनमा दबाब र त्रासको नीति नभई स्वेच्छिक कर अनुपालनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
कर प्रशासनलाई थप चुस्त र प्रभावकारी बनाउन जनशक्ति, पूर्वाधार तथा सूचना प्रविधिको अभाव भए खुलस्त जानकारी गराउन उनले निर्देशन दिए। कर प्रशासनमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने पनि उनले बताए।
चालु आर्थिक वर्षको बजेटलाई अर्थतन्त्र सुधारको मार्गचित्रका रूपमा बुझ्न आग्रह गर्दै उनले आगामी चार आर्थिक वर्षमा सरकारले निर्माण गर्न चाहेको आर्थिक आधार बजेटमार्फत स्पष्ट देखिने बताए।
बजेटमा घोषणा गरिएका कर छुटका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न, करदाता प्रोत्साहन अभियान सफल बनाउन, कर सचेतना बढाउन तथा कारोबारलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न विभागीय नेतृत्वलाई आवश्यक पहल गर्न उनले निर्देशन दिए।
प्रकाशित समय : १६:४० बजे



















