गृहपृष्ठ सरकारको एकसय दिनमा जनतामा आशाको दियो भन्दा निराशाको आगो बढि बलेको देखियो : थपलिया
सरकारको एकसय दिनमा जनतामा आशाको दियो भन्दा निराशाको आगो बढि बलेको देखियो : थपलिया
काठमाडौं । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया(सीता)ले पर्साको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको ठोरी सीमा नाकामा भारतीय पर्यटकका सवारीसाधनको प्रवेशमा रोक लगाएको घट्नाप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धि अभिव्यक्तिपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा विभिन्न किसिमका समस्याहरू देखिन थालेको उल्लेख गर्दै त्यसको असर ठोरी नाकामा पनि देखापरेको बताइन् ।
उनले भनिन्,‘पर्सा जिल्लाको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको ठोरी सीमा नाकामा भारतीय पर्यटकका सवारीसाधनको प्रवेशमा रोक लाग्दा पर्यटन व्यवसाय प्रभावित भएको छ । त्यहाँ भन्सार कार्यालयको भवन भए पनि आवश्यक कर्मचारीको व्यवस्था नहुँदा आफ्नै प्रशासनिक कमजोरीका कारण समस्या सिर्जना भएको देखिएको छ,’ अगाडि भनिन्,‘ त्यसैले, म सम्माननीय सभामुख महोदयमार्फत ठोरी सीमा नाकाको समस्या तत्काल समाधान गर्न, आवश्यक कर्मचारीको व्यवस्था गर्न र सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
त्यस्तै उनले सरकारको एकसय दिन सफल नभएको जिकिर गरिन । जनताले सरकारबाट ठूलो अपेक्षा गरेपनि एक सय दिनको समीक्षा गर्दा जनतामा आशाको दियो भन्दा निराशाको आगो बढि बलेको देखिएको उल्लेख गरिन् ।
‘सरकारले १०० बुँदे कार्यसूचीमार्फत सुशासन, सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणका प्रतिबद्धता जनाएको थियो तर व्यवहारमा जनताले त्यसको अनुभूति गर्न सकेका छैनन् । महँगी बढिरहेको छ, सेवा प्रवाहमा अपेक्षित सुधार देखिएको छैन, र जेनजी आन्दोलनसँग भएको १० बुँदे सहमति कार्यान्वयनमा पनि सरकार गम्भीर देखिएको छैन । सुकुम्बासी हरु आज पनि सरकारको बाटो कुरेर बसिरहेका छन ।
भ्रष्टाचारविरुद्ध कडा कारबाही आवश्यक छ तर कारबाही निष्पक्ष, प्रमाणमा आधारित र कानुनी प्रक्रिया अनुसार हुनुपर्छ । अन्यथा सुशासनको सन्देशभन्दा पूर्वाग्रहको आशंका बढ्ने खतरा पनि उत्तिकै छ त्यसैले सरकारले नागरिक संग प्रतिशोध लिन मिल्दैन,’ उनले भनिन् ।
प्रकाशित समय : १३:३४ बजे



















