गृहपृष्ठ मन्त्री चौधरीसँग कोरियाली राजदूतको भेट
मन्त्री चौधरीसँग कोरियाली राजदूतको भेट
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ योङले तथा कोरिया प्रोग्राम अन इन्टरनेशनल एग्रिकल्चरको प्रतिनिधिमण्डलले मन्त्रालयमा शिष्टाचार भेटघाट तथा द्विपक्षीय सहकार्यसम्बन्धी छलफल गरेको छ ।
आज भएको उक्त भेटका क्रममा नेपाल काठमाडौँ–कोरियाबीच कृषि, पशुपन्छी, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।
सो अवसरमा मन्त्री चौधरीले नेपाल सरकारका तर्फबाट कोरिया सरकारले नेपाललाई उपलब्ध गराएको उन्नत पशु नस्लप्रति आभार व्यक्त गरे । उनले वर्तमान सरकारले दुग्ध क्षेत्र विकास तथा दुग्ध विकास संस्थान सुदृढीकरणलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै कोरियाको आधुनिक दुग्ध प्रविधि नेपालमा विस्तार गर्न चाहेको बताए।
मन्त्री चौधरीले नेपाल सरकारले डिजिटलाइजेशन, नवप्रवर्तन, जलवायु–स्मार्ट कृषि तथा युवा स्टार्टअप कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यी क्षेत्रमा कोरियाबाट थप लगानी, प्रविधि तथा प्राविधिक सहयोग अपेक्षा गरिएको बताए । जैविक मल उत्पादन प्रविधि, पढ्ने तथा कमाउने कार्यक्रम विस्तार तथा संयुक्त कृषि कार्यसमिति बैठक आयोजना गर्नुपर्ने आवश्यकता औँल्याए ।
राजदूत पार्कले नेपाल र कोरियाबीच विगतदेखि कृषि तथा वातावरण क्षेत्रमा विभिन्न कार्यक्रम सफलतापूर्वक सञ्चालन हुँदै आएको उल्लेख गर्दै कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको बताए। कोरियाको सहयोगमा नेपालमा वितरण गरिएका १०८ उन्नत जातका हिफरबाट उत्साहजनक परिणाम प्राप्त भएको, महिला कृषकले व्यावसायिक उत्पादन सुरु गरिसकेको तथा तेस्रो पुस्तासम्म बाच्छाबाच्छी उत्पादन भइसकेको जानकारी दिए ।
राजदूत पार्कले नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० सँगको सहकार्यमा गतवर्ष स्थापना गरिएको ‘कोपिआ सेन्टर’ले प्रारम्भिक चरणमा तरकारी तथा आलु अनुसन्धानमा काम गरिरहेको जानकारी दिए । कोरियामा कार्यरत नेपाली श्रमिकहरूको योगदानको प्रशंसा गर्दै उनले कृषि क्षेत्रमा कार्यरत धेरै नेपाली युवाले सिकेको सीप र प्रविधि नेपाल फर्किएपछि उद्यमशीलतामा प्रयोग गरिरहेको उल्लेख गरे ।
राजदूत पार्कले वातावरण तथा ऊर्जा क्षेत्रको सहकार्यबारे चर्चा गर्दै रसुवामा निर्माणाधीन त्रिसूली जलविद्युत् आयोजना महत्वपूर्ण सहकार्य क्षेत्र रहेको बताए । वातावरणसम्बन्धी सहकार्यलाई थप विस्तार गर्न आगामी दिनमा संयुक्त सेमिनार आयोजना गर्ने इच्छा व्यक्त गरे।
भेटवार्तामा नेपाल–कोरियाबीचको दीर्घकालीन बहुपक्षीय तथा द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने विषयमा दुवै पक्ष सहमत भएका छन् ।
प्रकाशित समय : २१:२९ बजे

















