गृहपृष्ठ घरजग्गा कारोबारसँगै बढ्यो राजस्व,वैशाखमा ४ अर्ब ५४ करोड रुपैयाँ संकलन
घरजग्गा कारोबारसँगै बढ्यो राजस्व,वैशाखमा ४ अर्ब ५४ करोड रुपैयाँ संकलन
चालू आर्थिक वर्षको वैशाख महिनामा घरजग्गाको कारोबारमा सुधार देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैशाख महिनामा घरजग्गाको कारोबार, कित्ताकाट र त्यसबाट संकलन हुने राजस्व पनि वृद्धि भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
विभागका अनुसार वैशाखमा राजस्व १७.५६ प्रतिशतले वृद्धि भएको छ भने यो महिनामा कुल ४ अर्ब ५४ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको वैशाख महिनामा ३ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
वैशाख महिनामा घरजग्गा सम्बन्धी १ लाख ४४ हजार ६० वटा कारोबार भएको छ । जसमध्ये ५२ हजार ४२३ वटा लिखत पारित भएको छ । गत आर्थिक वर्षको वैशाखमा १ लाख ४१ हजार ७८२ वटा कारोबार हुँदा ४९ हजार ७८२ पटक लिखत पारित भएको विभागको तथ्यांकले देखाउँछ ।
चालू आर्थिक वर्षको वैशाखमा ५६ हजार ६८१ कित्ता जग्गा टुक्र्याएर १ लाख २८ हजार ४८७ वटा कित्तामा विभाजन गरिएको छ । गत आर्थिक वर्षको वैशाखमा ५७ हजार ७१९ वटा कित्तालाई १ लाख ३० हजार ६३२ वटा टुक्रा गरिएका थियो ।घरजग्गा कारोबार लयमा फर्कने संकेत देखिएको छ । चालू आर्थिक वर्ष ०८१–८२ मा उतारचढाव भइरहेको रियल इस्टेट क्षेत्र वैशमखमा उकालो लागेको हो ।
मालपोत कार्यालयबाट संकलित तथ्यांकअनुसार वैशाखमा सबैभन्दा धेरै कारोबार र राजस्व संकलन भएको छ । घरजग्गा खरिद–बिक्रीका लागि बैंकले एकल विन्दु ब्याजदरमा कर्जा दिन थालेकाले कारोबार बढेको व्यवसायीको भनाइ छ । यसैबीच, पछिल्ला महिनाहरुमा घरजग्गाको कारोबारमा सुधार आएको छ ।
कारोबारमा सुधार भएसँगै राजस्व संकलन पनि बढेको छ । चालू आर्थिक वर्षको नौ महिनामा घरजग्गा कारोबारबाट ३३ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत साउनदेखि चैत महिनासम्म ३३ अर्ब २२ करोड ४८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।
गएको वर्ष यही अवधिमा घरजग्गाको करोबारबाट ३० अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । गएको वर्षको तुुलनामा तीन अर्ब १२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको विभागको तथ्यांकले देखाएको छ । घरजग्गाको कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुुँजीगत दस्तुुर, अतिरिक्त शुल्क, डोर सुविधा, पुँजीगत लाभकर, विलम्ब शुल्क, नगर पूर्वाधार विकास शुल्क लगायत शीर्षकमा राजस्व संकलन हुने गरेको छ ।
पुँजीगत लाभकरबापत उठ्ने राजस्व मात्रै संघ सरकारको खातामा जाने गर्छ । तथ्यांक अनुसार राजस्व संकलनका हिसाबले काठमाडौँ उपत्यका अगाडि भए पनि घरजग्गाको कारोबार पूर्वी तराईका जिल्लाहरूमा बढ्दै गएको देखिन्छ ।
घरजग्गा कारोबारबाट कुन महिना कति उठ्यो राजस्व ?
–साउन ३ अर्ब ८३ करोड ५० लाख
–भदौ ३ अर्ब ९ करोड २ लाख
–असोज ३ अर्ब ८ करोड १२ लाख
–कात्तिक २ अर्ब ७० करोढ ४० लाख
–मंसिर ३ अर्ब ८७ करोड ४८ लाख
–पुस ४ अर्ब २५ करोड २२ लाख
–माघ ३ अर्ब ८७ करोड २४ लाख
–फागुन ४ अर्ब १२ करोड
–चैत ४ अर्ब ३९ करोड ४६ लाख
–वैशाख४ अर्ब ५४ करोड २२ लाख
प्रकाशित समय : १७:०५ बजे



















