गृहपृष्ठ एक महिनामै २ खर्ब पैसा बैकमा थुप्रियो , बैकले किन घटाए ब्याजदर ?
एक महिनामै २ खर्ब पैसा बैकमा थुप्रियो , बैकले किन घटाए ब्याजदर ?
बैंकिङ प्रणालीमा पछिल्लो एक महिनामै करिब दुई खर्ब रुपैयाँ निक्षेप थुप्रिएको छ। बैंकमा पैसा थुप्रिएपछि बैंकहरूले ब्याजदर भटाभट घटाउन थालेका छन्।
वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा जेठ मसान्तसम्म ६२ खर्ब ६० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएकोमा असार अन्तिम सातातिर ६४ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप थुप्रिएको छ।
प्रणालीमा रहेको कुल निक्षेपमध्ये सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा मात्रै ५७ खर्ब २९ अर्ब निक्षेप संकलन भएको छ। जबकि यसअघिको महिना जेठमा ५५ खर्ब ४० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको थियो। निक्षेप बढ्ने तर कर्जाको माग खासै नहुँदा प्रणालीमा पर्याप्त लगानीयोग्य पुँजी तरलता थुप्रिएको छ। जसले गर्दा कर्जा निक्षेप अनुपात ७७.७५ प्रतिशतमात्रै छ।
बैंकहरूले १ सय रुपैयाँ निक्षेपमा ९० रुपैयाँ कर्जा दिन पाउँछन्। अर्थात् नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम सीडी रेसियो ९० प्रतिशत छ। यस हिसाबले प्रणालीमा १२.२५ प्रतिशत अधिक तरलता छ। असार २६ गतेसम्ममा कुल ५१ खर्ब ५० अर्ब कर्जा प्रवाह भएकोमा वाणिज्य बैंकमार्फतमात्रै ४५ खर्ब ५५ अर्ब रुपैयाँ ऋण लगानीमा छ।
बैंकिङ प्रणालीमा झन्डै ९० प्रतिशत हिस्सा ओगट्ने वाणिज्य बैंकमा यतिबेला अत्यधिक पैसा थुप्रिएकाले साउनका लागि भटाभट ब्याजदर घटाएका छन्। आजदेखि ९साउन १ गते० बाट लागू हुने गरी साधारण बचत खाता र मुद्दती निक्षेपमा १३ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। तर मुद्दतीमा कृषि विकास बैंक र सिटिजन्सले मात्रै ब्याजदर झिनो बढाएका छन्। यससँगै पाँच वाणिज्य बैंक लक्ष्मी स्नराइज, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, नेपाल एसबीआई र स्ट्यान्र्डर्ड चार्टर्डको निक्षेप भने यसअघिकै स्थिर कायम रहेको छ।
साउन महिनामा वाणिज्य बैंकहरूको अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसत ६.७३९ प्रतिशत हाराहारीमा पुगेको छ। यो जेठ महिनाको तुलनामा साउनका लागि सार्वजनिक भएको ब्याजदरअनुसार उक्त हाराहारीमा अधिकतम ब्याजदर कायम भएको छ। तर यसअघि जेठ महिनाका लागि साधारण बचतमा न्यूनतम औसत ३।.प्रतिशत र व्यक्तिगत मुद्दतीमा निक्षेपमा अधिकतम औसत ६.८७६ प्रतिशतले ब्याज दिइएको थियो। साधारण बचत खातामा बैंकहरूको न्यूनतम ब्याजदर औसत ३.२८१ प्रतिशत छ। यससँगै संस्थागत मुद्दती निक्षेपमा बैंकहरूको अधिकतम ब्याजदर औसत ५.४७९ प्रतिशत रहेको छ। बैंकहरूले रेमिट्यान्सको मुद्दती निक्षेपमा भने व्यक्तिगत मुद्दतीको थप १ प्रतिशत बिन्दु दिँदै आएका छन्।
प्रकाशित समय : १९:३० बजे



















