गृहपृष्ठ ट्राफिक प्रहरीको ‘नागरिकमैत्री आचरण व्यवहार सुधार’ कार्यक्रम
ट्राफिक प्रहरीको ‘नागरिकमैत्री आचरण व्यवहार सुधार’ कार्यक्रम
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रदान गर्न कार्यक्रम सुरु गरेको छ । महाशाखाले ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा थप सुधार लक्षित कार्यक्रमको सुरुवात गरेको हो । ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारबाही एवं गतिविधिका क्रममा आउने सेवाग्राही तथा सडक प्रयोगकर्ताहरुसँग नागरिकमैत्री व्यवहार सहित सहज, सरल एंव पारदर्शी सेवा प्रदान होस भन्ने अभिप्रायले मुल्यांकन पद्दति सहित पुरस्कृत गर्ने परिपाटीको सुरुवात गरेको हो ।
नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना २०७७ लाई प्रभावकारी कार्यान्वयन गर्न ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्ताहरुसँग सभ्य, शिष्ट र पारदर्शी रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले नागरिकमैत्री ट्राफिक प्रहरी छनौट कार्यबिधी २०७७ बनाई लागु गरिएको एसएसपी भट्टराईले जानकारी दिए ।
एक सय पूर्णांकको कार्यविधिलाई दुई चरणमा विभाजन गरिएको छ । जसमा प्रहरी कर्मचारीको व्यक्तिगत आचरण, कार्यसम्पादन क्षमता, सेवाग्राहीसँगको व्यवहार, अनुशासन लगायतका विषयहरु समेटिएका छन् । प्रत्येक ट्राफिक प्रहरी कर्मचारीको प्रत्यक्ष मूल्यांकन कार्यरत कार्यालयको प्रमुख, हवल्दार र सुबेदार मेजरबाट हुनेछ भने समग्र मुल्यांकन एव सुपरिवेक्षण महाशाखाले गर्ने छनौट कार्यवधिमा व्यवस्था रहेको छ ।
प्रत्येक महिना सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने दुई जनालाई वृत्ति विकासमा गनिने गरि नगद पुरस्कार एवं सम्मान समेत गरिने महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए । यसले आम सेवाग्राही एंव सडक प्रयोगकर्ताहरुलाई नागरिकमैत्री व्यवहार सहित उत्कृष्ट सेवा प्रदान गर्न र समग्र कार्य सम्पादनमा प्रभावकारिता एव स्तरवृद्धि गर्न कोशेढुंगा साबित हुने प्रवक्ता अधिकारीले विश्वास व्यक्त गरे । ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री सेवा प्रदान गर्न महाशाखाले 'नागरिकमैत्री ट्राफिक प्रहरी छनौट कार्यविधि २०७७' लागू गरेको जनाएको छ ।
प्रकाशित समय : २२:०४ बजे



















