गृहपृष्ठ संसद पुनर्स्थापना भए बहुमतका लागि सांसद किनबेच हुन्छ, देश अस्थिरतातर्फ जान्छ : प्रधानमन्त्री ओली
संसद पुनर्स्थापना भए बहुमतका लागि सांसद किनबेच हुन्छ, देश अस्थिरतातर्फ जान्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना भए देश अस्थिरतातर्फ जाने बताएका छन् । कंचनपुरको दैजी छेला औद्योगिक विकास क्षेत्रको सोमबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले दुई/तीन दिनमा सर्वोच्चले गर्ने फैसलाबाट संसद पुनर्स्थापना भए पनि बहुमत जुटाउन सांसद किनबेच हुने बताएका हुन् । संसद पुनर्स्थापना जनताको पक्षमा नभएको उनले तर्क गरे ।
प्रचण्ड-नेपाल समूहले आफ्नो पक्षमा फैसला आउला भन्दै न्यायालयलाई धम्क्याउने काम गरिरहेको ओलीले आरोप लगाए । न्यायालयले कसैको धम्की नहेरेर जनताका पक्षमा निर्णय गर्ने उनले विश्वास व्यक्त गरे । विराटनगरमा आफूले 'आन्दोलन गर्छु' भन्ने विषयलाई विपक्षीले उल्टो ढंगले प्रचार गरेको आरोप लगाए । आफूले तोडफोड, गोली-बारुदको आन्दोलन नभइ विकासका लागि आन्दोलन गर्ने बताएको उनले स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले अब सुदूरपश्चिमबाट औद्योगिक विकास सुरु भएको भन्दै विकासबाट आफूलाई कसैले रोक्न नसक्ने बताए । फरक प्रसंगमा बोल्दै उनले बैतडीकी भागरथी भट्टको हत्यारालाई पक्राउ गरेकोमा प्रहरीलाई धन्यवाद दिए । सो घटना पनि निर्मला पन्त प्रकरणजस्तै राजनीतिकरण गर्न खोजिए पनि प्रहरीले समयमै ध्यान दिएकाले सफलता पाएको उनले बताए । अब निर्मलाका हत्यारालाई पनि चाँडै पक्राउ गर्न उनले प्रहरीलाई निर्देशन दिए ।
प्रकाशित समय : २३:१४ बजे
















