गृहपृष्ठ दाङका ३५ स्थान बाढीको उच्च जोखिममा
दाङका ३५ स्थान बाढीको उच्च जोखिममा
दुई दिनदेखिको अविरल वर्षापछि दाङका विभिन्न स्थानलाई जोखिमयुक्त मान्दै उच्च सतकर्ता अपनाउन आग्रह गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका ३५ स्थानलाई बाढी तथा पहिरोको उच्च जोखिमको रूपमा राखेको हो ।
जोखिमयुक्त स्थानमा करिब १ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमानसहित उच्च सतर्कता अपनाइएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्न्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले जानकारी दिए । दाङको राप्ती तटीय क्षेत्र अर्थात देउखुरी क्षेत्रको राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, तुलसीपुर क्षेत्रको दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिकामा बाढीको उच्च जोखिम रहेको दाहालले बताए ।
लमही नगरपालिका र तुलसीपुर उप महानगरपालिकाको तीन दर्जन वडालाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा राखेर सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको उनले बताए । जिल्लाको भालुवाङ, तुलसीपुरको उरहरी र घोराहीमा जिल्ला प्रशासन कार्यालयमा खोज उद्धार सामग्री सहित एक÷एक वटा रवर बोट र खोज उद्धार टोली तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाका र शान्तिनगर गाउँपालिकाको वडा नम्बर १ र ३ लाई पहिरोको उच्च जोखिम क्षेत्रका रुपमा तोकिएको श्रेष्ठले बताए । ‘आईतवारदेखी परेको वर्षापछि आउन सक्ने विपद्लाई कम गर्न उच्च र मध्यम जोखिम युक्त ठाँउ छनौट गरीएको हो ।’ श्रेष्ठले भने ।
यता घोराही उपमहानगरपालीकाको वार्ड नं १९ पनि पहिरोको जोखिमयुक्त वडामा रहेपनि त्यसलाई भने उच्च जोखीमको सूचिमा राखिएको छैन । त्यस्तै घोराहीकै वार्ड नं ४, ५, ६, ७, ८ र ९ नं वडाहरु पनि बाढीको जोखीमयुक्त मानिन्छन् । तर, अत्याधिक वर्षाका समयमा सानातिना खोलाहरुमा आउने बाढीले पनि मानवीय क्षति हुने गरेको छ ।
गतवर्ष घोराही १२ मा खहरे खोलाले वगाउँदा एकजनाको ज्यान गएको थियो । पहिरोको मध्यम जोखिम क्षेत्रका रूपमा बबई गाउँपालिका वडा नम्बर २ र ३, बंगलाचुली गाउँपालिका वडा नम्वर १, २ र ८, तथा राप्ति गाउँपालिकाको वडा नम्वर ९ रहेका छन् । दाङमा राप्ती नदीले चार वटा स्थानीय तहहरू राजपुर, गढवा, राप्ती र लमही नगरपालिकाका दुई दर्जन वडाहरूलाई प्रभावित बनाउने जिल्ला दैविप्रकोप उद्धार समितिले उल्लेख गरेको छ । त्यसबाट एक हजार घरधुरी प्रभावित हुने तथा झन्डै १० हजार मानिस प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ ।
दुई दिनदेखि अविरल रूपमा पानी परेको हुँदा सचेत रहन दाङका दशवटै स्थानीय तहहरुले सर्वसाधारणसँग अनुरोध गरेका छन् । घोराही उपमहानगरपालीका भएर वग्ने बबई तथा राप्ति गाउँपालिका भएर बग्ने राप्ति नदी आसपासका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले बबई र राप्तिमा पानीको बहाव बढेको हुँदा बाढी तथा पहिरोको जोखिम बढेको भन्दै सर्वसाधारणलाई सचेत रहन मोवाइलमार्फत सन्देश समेत पठाएको छ ।
प्रकाशित समय : १७:१० बजे