global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ चिसो भुइँमा कलिला बालबालिका

चिसो भुइँमा कलिला बालबालिका

चिसो भुइँमा कलिला बालबालिका

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–३ का तीनवटा विद्यालयका विद्यार्थी भुइँमै बसेर पढ्ने गरेका छन् । फर्निचर अभावमा साविकको सपही गाविसको बनिगामास्थित जनता निम्नमावि, ज्ञानोदय आधारभूत विद्यालय कञ्चनवन र नवदुर्गा गणेमानमान राष्ट्रिय प्राविका विद्यार्थी चिसो भुइँमै बसेर पढ्न बाध्य भएका हुन् ।
कक्षा ८ सम्म पढाइ हुने जनता र ज्ञानोदय विद्यालयमा दुई सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ज्ञानोदय निमाविमा कक्षा ४ मा अध्ययनरत पिंकी महराले भुइँमा बसेर पढ्नुपर्दा कपडा फोहोर हुने गरेको गुनासो गरिन् ।
फर्निचरका लागि बजेट नै नआएका कारण विद्यार्थीलाई भुँइमै बसाएर पढाउनुपरेको ज्ञानोदय निमाविका प्रधानाध्यापक प्रमोद कर्णले बताए । पाँच महिनाअघि प्रधानाध्यापकको जिम्मेवारी पाएका कर्णले विद्यार्थीको चाप बढेकाले कक्षाकोठामा डेस्क–बेन्च अभाव भएका कारण भुँइमै बसाएर पढाउनुपरेको बताए । ‘फर्निचरका लागि गाउँपालिकालाई बजेट दिन आग्रह गरेका छौं,’ उनले भने ।

ज्ञानोदय निमाविमा कक्षा ५ भन्दा माथिका विद्यार्थीका लागि मात्र डेस्क–बेन्चको व्यवस्था छ । ठूला कक्षाका विद्यार्थी पनि एउटै डेस्क–बेन्चमा ६–७ जनासम्म बसेर पढ्न बाध्य छन् । फर्निचर र कक्षाकोठा अभावमा दुई–तीनवटा कक्षा विद्यार्थीलाई एकै ठाउँ राखेर पढाउने गरेको शिक्षक ब्रहमदेव यादव बताउँछन् ।
जनता निमाविका प्रधानाध्यापक सुनिता यादवले माथिल्लो निकायमा पटक–पटक जानकारी गराउँदासमेत कुनै चासो नदिइएकाले बाध्य भएर विद्यार्थीलाई भुइँमै पढाउनुपरेको बताइन् । सरकारले विद्यालयमा पक्की भवन निर्माण गर्न र फर्निचन किन्न एकैपटक बजेट पठाउने गरेको छ । टुटफुट भएमा या विद्यार्थी संख्या बढेमा फर्निचर किन्न नसक्ने विद्यालय प्रशासनले जनाएको छ ।
कक्षाकोठा अभावमा कतिपय विद्यालयले खुला भुइँमा राखेर विद्यार्थीलाई पढाउने गरेका छन् । खुला भुइँमा बसेर पढ्नुपर्दा प्रचण्ड गर्मी र अत्यधिक चिसोको समयमा विद्यार्थी बिरामी हुने गरेका छन् ।
लक्ष्मीनिया गाउँपालिका कार्यालयले भने विद्यालयहरुमा यथाशीघ्र फर्निचर व्यवस्था गर्ने जनाएको छ । ‘गाउँपालिकाकाले शिक्षालाई विशेष प्राथमिकता दिएको छ,’ अध्यक्ष विन्देश्वर यादवले भने, ‘फर्निचरकै कारण विद्यार्थीको पढाइलेखाइ प्रभावित हुन दिन्नौं, चाँडै प्रबन्ध गर्छौं ।’

प्रकाशित समय : २०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु