काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालको डिजिटल भुक्तानी क्षेत्र सुदृढ बनाउन भिसाको प्रतिबद्धता

1.2K
shares

काठमाडौं । डिजिटल भुक्तानी क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी भिसाले काठमाडौंमा ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ आयोजना गर्दै नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई सहयोग गर्ने दीर्घकालीन प्रतिबद्धता पुनः दोहोर्‍याएको छ ।

‘विश्वासः विश्वलाई अगाडि बढाउने शक्ति’ भन्ने नाराका साथ आयोजित कन्क्लेभमा नेपालको बैंकिङ तथा वित्तीय सेवा क्षेत्र, सरकार, नियामक निकाय र भुक्तानी इकोसिस्टमका २०० भन्दा बढी नेतृत्वकर्ता तथा सरोकारवालाहरू सहभागी भएका थिए । कार्यक्रममा सुरक्षित, नवीन र समावेशी डिजिटल अर्थतन्त्र निर्माणका विषयमा छलफल गरिएको थियो ।

कन्क्लेभले भुक्तानी क्षेत्रमा भइरहेका परिवर्तन तथा उपभोक्ता, व्यवसाय र वित्तीय संस्थाका बदलिँदा आवश्यकतालाई सम्बोधन गर्न विश्वास, नवीनता र सहकार्यको भूमिकाबारे छलफल गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गरेको थियो ।

कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिन तथा नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका निर्देशक अजित रेग्मी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । भिसाको नेतृत्व तहबाट बंगलादेश, नेपाल तथा भुटानका कन्ट्री म्यानेजर सब्बिर अहमद, भिसा नेपालका प्रमुख मनोज थापा तथा सोही क्षेत्रका उत्पादन प्रमुख तौफिक इमामको पनि सहभागिता रहेको थियो ।

बंगलादेश, नेपाल तथा भुटानका लागि भिसाका कन्ट्री म्यानेजर सब्बिर अहमदले सफल डिजिटल भुक्तानी प्रणालीको आधार विश्वास रहेको बताए । नेपाल डिजिटल रूपान्तरणको यात्रामा अघि बढिरहेका बेला नवीनता, सुरक्षा र अर्थपूर्ण साझेदारीमार्फत विश्वास बलियो बनाउनु उपभोक्ता तथा व्यवसायका लागि नयाँ अवसर सिर्जना गर्ने निर्णायक पक्ष रहेको उनको भनाइ थियो ।

अन्तर्राष्ट्रिय अनुभव, आधुनिक प्रविधि तथा सशक्त सञ्जाललाई स्थानीय सहकार्यसँग जोड्दै नेपालको डिजिटल भुक्तानी अभियानलाई साकार पार्न भिसा निरन्तर क्रियाशील रहेको उनले उल्लेख गरे । सम्मेलनले वित्तीय साझेदार, नियामक निकाय तथा सरोकारवालासँगको सहकार्यलाई थप मजबुत बनाउँदै सुरक्षित, पहुँचयोग्य र प्रविधिमैत्री डिजिटल अर्थतन्त्र निर्माण गर्ने साझा प्रतिबद्धतालाई पुनः उजागर गरेको पनि उनले बताए ।

कार्यक्रमको सन्ध्याकालीन सत्रमा ‘भिसा बिजनेस एक्सलेन्स अवार्ड्स’समेत प्रदान गरिएको थियो । पुरस्कारमार्फत नेपालमा डिजिटल भुक्तानीको विकासमा बैंक, वित्तीय संस्था तथा इकोसिस्टमका साझेदारहरूले पुर्‍याएको नेतृत्वदायी भूमिका, नवीनता र योगदानको कदर गरिएको थियो । पुरस्कारले भुक्तानी क्षेत्र सुदृढ बनाउन तथा डिजिटल भुक्तानी समाधानको प्रयोग बढाउन सरोकारवालाहरूले गरेको सामूहिक प्रयासलाई सम्मान गरेको आयोजकले जनाएको छ ।

भिसा लिडरसिप कन्क्लेभ २०२६ ले ग्राहक, साझेदार, नियामक निकाय तथा समग्र इकोसिस्टमसँग निकट रहेर नेपालको डिजिटल रूपान्तरणलाई सहयोग गर्ने भिसाको प्रतिबद्धतालाई थप बलियो बनाएको छ । विश्वव्यापी क्षमता र स्थानीय सहकार्यको समन्वयमार्फत व्यक्ति, व्यवसाय तथा अर्थतन्त्रलाई समृद्ध बनाउन सुरक्षित, सहज र समावेशी डिजिटल भुक्तानी अनुभव उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

भिसाबारे

भिसा डिजिटल भुक्तानी क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी हो । कम्पनीले २०० भन्दा बढी देश तथा क्षेत्रमा उपभोक्ता, व्यापारी, वित्तीय संस्था र सरकारी निकायबीचको कारोबारलाई सहज बनाउँदै आएको छ । नवीन, सुविधाजनक, भरपर्दो तथा सुरक्षित भुक्तानी नेटवर्कमार्फत विश्वलाई जोड्दै व्यक्ति, व्यवसाय र अर्थतन्त्रलाई समृद्ध बनाउनु कम्पनीको उद्देश्य रहेको छ । पहुँचमा आधारित समावेशी अर्थतन्त्रले सबैलाई प्रगति र समृद्धिको अवसर प्रदान गर्ने विश्वास भिसाले राख्दै आएको छ ।