विदेशी पर्यटकलाई लक्षित गर्दै ‘नेपाल नाउ’ डिजिटल भुक्तानी एप सार्वजनिक
वि.सं.२०८३ मंसिर १० बिहीवार १५:०१
shares

ललितपुर । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई डिजिटल भुक्तानी सहज बनाउने उद्देश्यले फोनपे र नबिल बैंकले संयुक्त रूपमा ‘नेपाल नाउ’ एप सार्वजनिक गरेका छन् ।
एपमार्फत विदेशी पर्यटकले नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टबाट भुक्तानी गर्न सक्नेछन् । नेपालको डिजिटल भुक्तानी प्रणालीमा पर्यटकलाई समेत जोड्ने उद्देश्यले एप सञ्चालनमा ल्याइएको फोनपेले जनाएको छ ।
नेपाल नाउ एप प्रयोग गर्न पर्यटकले आफ्नो वैध राहदानी र नेपाली भिसाको विवरण राखेर दर्ता गर्नुपर्नेछ । त्यसपछि अन्तर्राष्ट्रिय भिसा, मास्टरकार्ड वा युनियनपे कार्डमार्फत एपमा रकम जम्मा गरी फोनपे क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् ।
यस सुविधाले नेपाल भ्रमणका क्रममा विदेशी पर्यटकलाई दैनिक कारोबारका लागि नगदमै निर्भर हुनुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ । साथै, होटल, रेस्टुरेन्ट, पसल तथा अन्य स्थानीय व्यवसायलाई अन्तर्राष्ट्रिय ग्राहकसँग जोड्न पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।
एप सार्वजनिक गर्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले नेपालले क्यूआर भुक्तानीमा व्यापक सञ्जाल निर्माण गरिसकेको उल्लेख गर्दै त्यसको लाभ अन्तर्राष्ट्रिय पर्यटकसम्म पुर्याउन ‘नेपाल नाउ’ ल्याइएको बताए ।
उनका अनुसार एपले पर्यटकको दैनिक भुक्तानी सहज बनाउनुका साथै स्थानीय व्यवसाय तथा व्यापारीलाई विदेशी ग्राहकसँग कारोबार गर्ने थप अवसर प्रदान गर्नेछ ।
नेपालको डिजिटल भुक्तानी प्रणालीको पहुँच विस्तार गर्ने र मुलुकलाई डिजिटल रूपमा जोडिएको पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रयासस्वरूप एप सार्वजनिक गरिएको फोनपेले जनाएको छ ।
अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालको विद्यमान क्यूआर भुक्तानी प्रणालीमा जोड्ने यो पहलले डिजिटल वित्तीय सेवा र पर्यटन क्षेत्रबीचको सहकार्य थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
‘नेपाल नाउ’ एप एप्पलको एप स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
























