काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जाडो छल्न आउन थाले पाहुना चरा

420
shares

चितवन । जाडो बढेसँगै आहाराको खोजीमा हिमाली क्षेत्रबाट चरा तराई झर्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी पाहुना चरा देखिन थालेका छन् ।

जाडो छल्न हाँस प्रजातिका चरासहित बाज, चिललगायतका चरा यहाँ आएका हुन् । यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेको पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक बासु बिडारीले जानकारी दिए ।

उनका अनुसार नेपाल बाहिरबाट आएका १२ देखि १५ प्रजातिका हाँस यहाँका नारायणी, राप्ती नदी र रिउ खोलामा देखिन थालेका छन् । अहिले कतिपय चरा आइसकेका र कतिपय आउन बाँकी रहेको उनले बताए । नेपालकै पहाडी क्षेत्रबाट समेत चिसो छल्न चरा चितवन आउने गरेका छन् ।

बिडारीका अनुसार साइबेरिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायतका देशबाट नेपालमा चरा आउने गरेका छन् । नेपाल आउने चरामा हाँस प्रजातिका चखेवा, सुइरोपुच्छ्रे, मालक, खडखडे, बिजुला र गैरीजस्ता चरा छन् ।

त्यस्तै, सुडसुडिया प्रजातिका वनमा आश्रित चरा आउने गरेका छन् । वनमा आश्रित प्रजातिमा चाचर, चुइया र भारद्वाज पर्ने उनले बताए। उनले भने, “चिसो छल्न र आहाराको खोजीमा चरा उत्तरबाट दक्षिणतर्फ आउने गरेको पाइन्छ ।”

नेपालमा १२० देखि १८० प्रजातिका चरा आगन्तुकका रूपमा आउने गरेको बताउँदै उनले अहिलेसम्म एक सयभन्दा बढी प्रजातिका चरा आइसकेको बताए । यी चरा छ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने उनले जानकारी दिए ।

पृथ्वीको उत्तरी गोलार्धमा दिन छोटो र रात लामो हुने भएकाले चरालाई आहार खोज्न पर्याप्त समय नहुने हुँदा ती चरा दक्षिणतर्फ आउने गरेको उनले बताए । पाँचदेखि सात हजार किलोमिटर टाढाबाट यहाँ चरा आउने गरेको उनको भनाइ छ ।

विशेषगरी सिमसार, घाँसेमैदान, वन तथा खेतबारीमा बस्ने चरा आउने गरेका छन् । नेपालमा हाल ९०४ प्रजातिका चरा पाइन्छन् । चितवनमा ६५२ प्रजातिका चरा अभिलेख भएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी र रिउ नदी तथा आसपासका सिमसार क्षेत्र जलपक्षीका लागि उपयुक्त बासस्थान मानिन्छन् । निकुञ्ज, मध्यवर्ती क्षेत्र र सामुदायिक वन चराका लागि उपयुक्त विचरण क्षेत्र हुन् ।