दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : चौरजहारीमा शारीरिक सुगठन प्रतियोगितामा सुरु
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १८:४५
shares
रुकुमपश्चिम । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा आजदेखि शारीरिक सुगठन (बडीबिल्डिङ) प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
खेलकुदले युवाको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास र राष्ट्रप्रतिको गौरव बढाउने उल्लेख गर्दै उनले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका लागि गौरवको विषय भएको बताउँदै मन्त्री खड्का रोकाले प्रतियोगिता सफल बनाउन प्रदेश सरकार, स्थानीय तह, खेलकुद क्षेत्रका सरोकारवाला, खेलाडी तथा आमनागरिकको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
उनले प्रतियोगितामा सहभागी खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै खेलकुदमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा कर्णालीको पहिचान स्थापित गर्न सकिने विश्वास व्यक्त गरे ।
चौरजहारीमा सञ्चालन भइरहेको शारीरिक सुगठन प्रतियोगितामा सातवटै प्रदेशका साथै विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका खेलाडी सहभागी छन् ।

























