काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अस्ट्रेलियाको बजारमा नेपाली ब्रान्ड ‘कोजिओस्को’, नेपालमै उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्दै

1.22K
shares

क्यानबेरा । अस्ट्रेलियाको प्रतिस्पर्धात्मक फेसन तथा कपडा बजारमा नेपाली उद्यमी सरोज अर्यालले आफ्नै ब्रान्डमार्फत उपस्थिति जनाउन थालेका छन् ।

नेपालको बुटवलका सूचना प्रविधि (आईटी) विषयका स्नातक अर्यालले स्थापना गरेको ‘कोजिओस्को’ ब्रान्ड नेपाली स्वामित्वमा रहेको र नेपालमै उत्पादन हुने कपडा ब्रान्ड हो ।

यस ब्रान्डको विशेषता भनेको नेपाली डिजाइन र नेपाली कालीगढले तयार पारेका कपडालाई अस्ट्रेलियाली बजारमा पु-याउनु हो । अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्ने लक्ष्यसहित अर्यालले नेपाली सीप, श्रम र गुणस्तरिय उत्पादनलाई अस्ट्रेलियामा चिनाउने प्रयास गरिरहेका छन् ।

अर्यालले माउन्ट कोजिओस्को पदयात्राका क्रममा यो व्यवसाय सुरु गर्ने सोच आएको बताए। अस्ट्रेलियाको सर्वोच्च शिखर कोजिओस्कोको पदयात्रा गर्दा नेपालमा रोजगारी सिर्जना गर्ने र अस्ट्रेलियामा नेपालीहरूलाई स्वरोजगारको अवसर उपलब्ध गराउने उद्देश्यले व्यवसाय सुरु गर्ने योजना बनाएको उनको भनाइ छ ।

‘नेपालमा रोजगारी सिर्जना गर्ने र अस्ट्रेलियामा नेपालीलाई स्वरोजगार बनाउने उद्देश्यले यो व्यवसाय सुरु गर्ने सोच आएको हो,’अर्यालले भने ।

ब्रान्डको नाम छनोट गर्नु पनि उनका लागि सहज थिएन। नेपाली नामबाट व्यवसाय दर्ता गर्न खोज्दा धेरै नाम अन्तर्राष्ट्रिय कम्पनी तथा व्यवसायले पहिल्यै प्रयोग गरिसकेका कारण नयाँ र उपयुक्त नाम खोज्न कठिन भएको उनले बताए ।

अन्ततः ‘कोजिओस्को’ नाम छनोट गरिएको हो। अस्ट्रेलियाको प्रसिद्ध हिमालसँग जोडिएको यो नामले नेपाली पर्वतारोहण परम्परा र अस्ट्रेलिया–नेपालबीचको सम्बन्धलाई समेत प्रतिबिम्बित गर्ने अर्यालको विश्वास छ ।

हाल कोजिओस्कोले अस्ट्रेलियाको क्यानबेरास्थित गन्गालिनको एक व्यावसायिक मलको खुला स्थानबाट आफ्नो व्यवसाय सञ्चालन गरिरहेको छ । सुरुवाती चरणमा सीमित स्थान र स्रोतसाधनका बाबजुद अर्याल भविष्यमा व्यवसाय विस्तार गर्ने योजनासहित अघि बढिरहेका छन् ।

उनका अनुसार अस्ट्रेलियाली ग्राहकबाट पनि उत्पादनप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । नेपाली उत्पादनको गुणस्तर र मूल्यलाई ग्राहकले रुचाउन थालेको उनको अनुभव छ ।

क्यानबेराका स्थानीय ग्राहक नाथन रोले आफूले कोजिओस्कोको ज्याकेट खरिद गरेको बताउँदै यसको गुणस्तर राम्रो र मूल्य पनि किफायती रहेको प्रतिक्रिया दिए ।

नेपालमै डिजाइन र उत्पादन गरेर अस्ट्रेलियाको बजारमा बिक्री गर्ने आर्यको प्रयास नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने सम्भावनासँग जोडिएको छ ।

नेपालमा उत्पादन, नेपाली कालीगढको सीप र अस्ट्रेलियामा बजार विस्तारलाई एउटै व्यावसायिक अवधारणामा जोड्दै अघि बढेको कोजिओस्कोले नेपाली उद्यमशीलताको एउटा नयाँ उदाहरण प्रस्तुत गरेको छ ।