स्थानीय तहबाटै नापी र मालपोत सेवा दिने तयारी गर्न मन्त्री रावलको निर्देशन
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १८:४८
shares

जनकपुरधाम । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले निर्धारण गरेको समयसीमाभित्र नापी र मालपोत सेवा स्थानीय तहबाटै उपलब्ध गराउने गरी आवश्यक तयारी अघि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छन् ।
भूमि समस्या समाधान समितिको कार्यप्रगति तथा नापी र मालपोत सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने तयारीका सम्बन्धमा आज जिल्ला प्रशासन कार्यालय धनुषामा आयोजित छलफलमा मन्त्री रावलले सरकारको प्राथमिकताअनुसार कामलाई तीव्रता दिन निर्देशन दिएकी हुन् ।
उनले एक महिनाभित्रै नापी र मालपोतसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने सरकारको प्रतिबद्धता रहेको उल्लेख गर्दै सोहीअनुरूप आवश्यक जनशक्ति, पूर्वाधार र व्यवस्थापकीय तयारी गर्न कर्मचारीलाई आग्रह गरिन् । नागरिकले सामान्य कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै स्थानीय तहमै सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री रावलले दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई निर्धारित समयभित्र जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्ने गरी काम गर्न भूमि समस्या समाधान समितिलाई निर्देशन दिइन् ।
भूमिसम्बन्धी समस्या समाधान गर्दा वास्तविक लाभग्राहीको पहिचान गरी निष्पक्ष र पारदर्शी ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै उनले कुनै पनि बहानामा सेवा प्रवाहमा ढिलासुस्ती नगर्न आग्रह गरिन् ।
सरकारको मूलमन्त्र सुशासन र पारदर्शिता रहेको उल्लेख गर्दै मन्त्री रावलले यस विषयमा सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पारिन् । सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, सरल र सहज बनाउन कर्मचारी प्रशासन जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।
उनले सरकारी सेवा नागरिकको घरदैलोसम्म पुर्याउने उद्देश्यले सरकारले अघि सारेका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तहका कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिबीच समन्वय आवश्यक रहेको धारणा राखिन् ।
छलफलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, नापी र भूमि प्रशासन कार्यालयका प्रमुख तथा भूमि समस्या समाधान समितिका पदाधिकारीलगायत सहभागी थिए ।

























