हलेसीमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण, पहिचान झल्काउने परम्परागत सामग्री सङ्कलन सुरु
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १८:२४
shares

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा निर्माणाधीन बहुसांस्कृतिक सङ्ग्रहालयमा प्रदर्शन तथा संरक्षणका लागि विभिन्न जातजाति र समुदायको मौलिक पहिचान झल्काउने परम्परागत सामग्री सङ्कलन सुरु गरिएको छ ।
नगरपालिकाभित्र बसोबास गर्ने सबै जातजाति तथा समुदायका मौलिक संस्कार, संस्कृति, परम्परा, रहनसहन र ऐतिहासिक पहिचानको संरक्षण, प्रवर्द्धन तथा भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कोशी प्रदेश सरकारसँगको साझेदारीमा सङ्ग्रहालय निर्माण गरिएको हो ।
सङ्ग्रहालयमा मौलिक भेषभूषा, गरगहना, बाजागाजा, कृषि तथा घरेलु औजार, पूजाआजामा प्रयोग हुने सामग्री, ऐतिहासिक भाँडाकुँडा र हस्तकलाका सामग्री सङ्कलन गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले इच्छुक समुदाय, सङ्घसंस्था, गुठी, क्लब तथा व्यक्तिलाई ३५ दिनभित्र सामग्रीको विवरणसहित नगरपालिकाको कार्यालयमा उपलब्ध गराउन वा सङ्कलनका लागि जानकारी दिन आग्रह गरेका छन । सामग्री उपलब्ध गराउने व्यक्ति, परिवार, टोल, क्लब वा संस्थाको नाम, ठेगाना र सम्पर्क नम्बरसहित सामग्रीको नाम, सम्बन्धित समुदाय वा जातजाति, अनुमानित पुरानो समय वा ऐतिहासिक महत्त्व र सङ्क्षिाप्त परिचय उपलब्ध गराउन सूचनामार्फत आग्रह गरिएको छ ।
व्यक्तिगत वा सामुदायिक रूपमा दान तथा हस्तान्तरण गर्न अथवा निश्चित अवधिका लागि प्रदर्शनमा राख्न चाहनेले त्यसको स्पष्ट विवरणसमेत खुलाउनुपर्ने नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । सङ्ग्रहालयमा प्रदर्शन गरिने सामग्रीको उचित संरक्षण र अभिलेखीकरण गर्नुका साथै दाता तथा सम्बन्धित समुदायको पहिचान झल्किने गरी विवरण सुरक्षित राखिने नगरपालिकाले जनाएको छ ।
ऐतिहासिक तथा गौरवपूर्ण कार्यमा सक्रिय सहभागिता र सहयोगका लागि सबै जातजाति, आदिवासी जनजाति समुदाय, बुद्धिजीवी, समाजसेवी तथा सरोकारवालालाई नगरपालिकाले आग्रह गरेको छ ।
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङलुङ पार्क परिसरमा बहुसांस्कृतिक सङ्ग्रहालय भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि कोशी प्रदेश सरकार र नगरपालिकाले एक/एक करोड बजेट उपलब्ध गराएका थिए । प्रदेश सरकारको बजेटबाट गङ्गा–जमुना निर्माण सेवा, ताप्लेजुङले ९० लाख तथा नगरपालिकाको बजेटबाट सुदेवी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले ८० लाख ८१ हजारमा सङ्ग्रहालय भवन निर्माणको जिम्मा लिएका थिए ।
प्रदेश सरकारको बजेटबाट एउटा तथा नगरपालिकाको बजेटबाट दुईवटा सङ्ग्रहालय भवन निर्माणको काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ । बहुउद्देश्यीय सङ्ग्रहालयका लागि आवश्यक सामग्री स्थानीय समुदायबाट सङ्कलन भएपछि कार्यपालिकाको बैठकबाट उद्घाटनको मिति तय गरिने जनाइएको छ ।
बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बुङलुङ पार्कमा सङ्ग्रहालय स्थापना गरिएको नगरप्रमुख विमला राईले बताए । स्थानीय संस्कृति, इतिहास, परम्परा र विभिन्न समुदायको जीवनशैली संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको उनले जानकारी दिए ।
भस्मासुर राक्षसले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाइला परेको र त्यसपछि ढुङ्गाको कलात्मक आकृति बनेको किंवदन्ती छ । निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको बुङलुङ पार्क हलेसी हुँदै जाने नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यअन्तर्गतको मुन्दुम ट्रेल (पदमर्ग)को प्रवेशस्थलमा पर्दछ ।
किराती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट सुरु भएर रूपाकोट, टेम्के, मैयुङ हुँदै साल्पा–सिलिचुङसम्म निर्धारण गरिएको छ । त्रिधार्मिकस्थल हलेसी र ककनीडाँडानजिकै किरात सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजुमसमेत अवस्थित छ ।
सङ्ग, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण सुरु गरिएको बुङलुङ पार्कमा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीयले बताएका छन् । निर्माणाधीन अवस्थामै पार्कका आकर्षक तस्बिर सामाजिक सञ्जालमा फैलिन थालेपछि यस क्षेत्रप्रति पर्यटकको आकर्षण बढेको छ ।

























