काठमाडौंका भित्तामा मुस्कुराइरहेका वृद्ध, चित्रमार्फत फैलाउँदै खुसीको सन्देश
वि.सं.२०८३ मंसिर १२ शनिवार ११:४२
shares

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकाका भित्ता तथा सार्वजनिक स्थानहरुमा ढाका टोपी लगाएका एक वृद्ध मुस्कुराइरहेको चित्र(स्केच) देख्न पाइन्छ । सडक, गल्ली र सार्वजनिक स्थानका भित्ताहरुमा देखिएको चित्र मौलिक र रोचक पनि देखिन्छ ।
खुला हाँसो,चम्किला आँखा र बिग्रिएका दाँतसहितको उक्त तस्बिरले सर्वसाधरणहरुको ध्यान खिचिरहेको छ । ‘खुशी बन’, सामान्यतया विज्ञापन, राजनीतिक नारा र विभिन्न प्रचार सामग्रीले भरिने सहरका भित्तामा फरक खालको यो सन्देश दिने तस्बिर रहेको छ । मुस्कानमार्फत सकारात्मक सोच र खुसीको सन्देश प्रवाह गर्ने प्रयास यो तस्बिरमा देखिन्छ ।
सडकका भित्तामा कोरिएका चित्रले पनि मानिसको मनमा खुसी र सकारात्मक सोच जगाउन सक्छन् भन्ने उदाहरण बनेका छन् किरण तुलाधर । चित्रकलाप्रतिको रुचिलाई सामाजिक सन्देशसँग जोड्दै उनले काठमाडौंका विभिन्न सार्वजनिक स्थानका भित्तामा ‘खुसी बन’ लेखिएका चित्र बनाउँदै आएका छन् ।
धुलो, धुवाँ र अस्तव्यस्त सहरी वातावरणबिच भित्तामा कोरिएको वृद्धको हाँसोले मानिसलाई केही क्षण रोकिन र सोच्न बाध्य बनाउँछ । बाहिरी आवरणभन्दा भित्री खुसी, सहजता र जीवनप्रतिको सकारात्मक दृष्टिकोणलाई चित्रले प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ ।
यो तस्बिर केवल भित्तामा बनाइएको आकृति मात्र होइन, मानिसको मनसँग संवाद गर्ने एउटा सिर्जनात्मक माध्यमका रूपमा देखिन्छ । शब्दभन्दा भावनालाई प्राथमिकता दिएको चित्रले सहरको व्यस्त जीवनमा मानवीय संवेदना र मुस्कानको महत्वलाई सम्झाउने प्रयास गरेको छ ।
सानैदेखि चित्रकलामा रुचि राख्ने तिवारीले करिब सात वर्षअघि काठमाडौं स्ट्रिट आर्ट कलेक्टिभ्सका कलाकारहरूसँग मिलेर सडकका भित्तामा चित्र बनाउने अवसर पाएका थिए । त्यसक्रममा उनले विभिन्न सन्देशमूलक चित्र बनाउने अभ्यास गरे । यही क्रममा आफ्नै रेकर्डिङ स्टूडियो रहेको नक्साल क्षेत्रको एउटा भित्तामा उनले पहिलोपटक ‘खुसी बन’ सन्देशसहितको चित्र बनाएका थिए ।
तुलाधरले बनाउने चित्रलाई ‘स्टेन्सिल आर्ट’ भनिन्छ । धातुको पातलो पातामा हातले आकृति काटेर तयार पारिएको नमुनामार्फत भित्तामा रङ छर्केर चित्र बनाउने यो विधि हो ।
उनले बनाएको पहिलो चित्रलाई स्थानीयले मन पराएपछि यसले सकारात्मक सन्देश फैलाउन सक्ने महसुस गरे । कोरोना महामारीका कारण केही समय अभियान रोकिए पनि त्यसपछि उनले यसलाई निरन्तरता दिने सोच बनाए ।
‘खुसी बन’ अभियानको मुख्य उद्देश्य मानिसलाई जीवनका हरेक परिस्थितिमा खुसी रहन प्रेरित गर्नु हो । उनका अनुसार मानिसहरू धन, सम्पत्ति, नाम र सफलताको खोजीमा दौडिरहेका हुन्छन् । तर खुसी हुनका लागि ठूला उपलब्धि नै आवश्यक हुँदैनन् । साना–साना कुरामा पनि खुसी खोज्न सक्नुपर्छ भन्ने सन्देश उनले आफ्ना चित्रमार्फत दिन खोजेका छन् ।
गत वर्षदेखि उनले आफ्ना साथी सुशीलको सहयोगमा अभियानलाई थप विस्तार गरेका हुन् । त्यसपछि काठमाडौंका विभिन्न स्थानका भित्तामा ‘खुसी बन’ लेखिएका चित्र बनाउन थालिएको उनले बताए । हालसम्म काठमाडौंका करिब १ हजार ५०० स्थानमा यस्ता चित्र बनाइसकेको उनको भनाइ छ । काठमाडौं बाहिरका राजमार्ग आसपासका क्षेत्रमा पनि उनले चित्र बनाएका छन् ।
तुलाधरका अनुसार सार्वजनिक स्थानका भित्तामा नकारात्मक तथा अश्लील शब्द र सन्देश लेखिएको देखेपछि त्यसको सट्टा सकारात्मक सन्देश फैलाउने चित्र किन नबनाउने भन्ने सोच आएको थियो । एउटा रुखले मानिसलाई स्वच्छ हावा र शीतलता दिएझैँ सकारात्मक सन्देश बोकेको चित्रले पनि मानिसको मनमा आनन्द र सकारात्मकता ल्याउन सक्ने उनको विश्वास छ ।
विरोध र अवरोधको सामना
अभियानको सुरुवाती चरण सहज थिएन । सुरुका दिनमा चित्र बनाउँदा विरोध, अवरोध र धम्कीसमेत सामना गर्नुपरेको थियो । अहिले भने त्यही चित्र बनाउन विभिन्न ठाउँबाट निम्तो आउन थालेको छ ।
चित्रकार किरणका अनुसार अभियान सुरु गर्दा सार्वजनिक स्थानमा चित्र बनाएको भन्दै कतिपयले विरोध गरेका थिए । केही ठाउँमा कुटपिट गर्ने प्रयाससमेत भएको थियो भने प्रहरीबाट केरकारका लागि बोलावट र कारबाहीको सामना गर्नुपर्ने अवस्था आएको थियो । कतिपय स्थानमा चित्र मेट्न दबाब दिइएपछि आफैँले बनाएको चित्र हटाएर भित्तालाई पुरानै अवस्थामा फर्काउनुपर्ने अवस्था पनि आएको उनले सुनाए ।
तर समयसँगै उक्त चित्रप्रति मानिसहरूको आकर्षण बढ्दै गएको छ । अहिले विभिन्न व्यक्ति तथा समूहले आफ्नो ठाउँमा पनि त्यस्तै चित्र बनाइदिन आग्रह गर्दै फोन गर्ने गरेका छन् । ठूलो आकारमा चित्र बनाउनुपर्ने मागसमेत आउन थालेको उनले बताए ।
चित्रप्रतिको आकर्षण भित्तामा मात्र सीमित छैन । कतिपयले उक्त चित्र अंकित टिसर्टसमेत बनाएर लगाउन थालेका छन् । विभिन्न समूहले खर्च व्यहोर्ने प्रस्ताव गर्दै टिसर्टमा चित्र छापिदिन आग्रह गर्ने गरेका छन् । यसले चित्रलाई अझ धेरै मानिसमाझ पु¥याउने अवसर सिर्जना गरेको चित्रकारको भनाइ छ ।
अहिले उक्त चित्रलाई थप व्यापक बनाउने उद्देश्यले स्टिकरका रूपमा विकास गर्ने तयारी भइरहेको छ । सार्वजनिक यातायात, माइक्रोबस तथा अन्य सवारीसाधनमा स्टिकर टाँसेर धेरै मानिसमाझ सन्देश पु¥याउने योजना बनाइएको छ ।
सुरुमा विरोध र अवरोध खेपेको चित्र अहिले मानिसहरूको रुचि र समर्थन पाउँदै गएको छ । भित्ताबाट सुरु भएको यो सिर्जनात्मक अभियान अब टिसर्ट, स्टिकर र सार्वजनिक यातायातसम्म विस्तार गर्ने तयारीले चित्रलाई सडक तथा जनजीवनसँग जोड्ने नयाँ प्रयासका रूपमा अघि बढाएको छ ।
तुलाधरका अनुसार चित्र हेरेर मानिसहरू केहीबेर रोकिने, मुस्कुराउने र खुसी भएर अघि बढ्ने गरेको दृश्यले आफूलाई थप उत्साहित बनाउँछ । कतिपयले सडकमा रहेका कुकुरहरूको सुरक्षाका लागि ‘खुसी बन’ सन्देश लेखिएका पट्टी लगाउने प्रस्तावसमेत गरेका छन् । त्यस्तै, अभियानको सन्देश थप फैलाउन टी–सर्टमा चित्र छाप्न र अन्य सामग्री तयार पार्न पनि मानिसहरूले चासो देखाएका छन् ।
उनले ‘खुसी बन’ अभियानलाई स्टिकरमार्फत सार्वजनिक यातायातसम्म पु¥याउने योजना बनाएका छन् । माइक्रोबस तथा अन्य सार्वजनिक सवारीसाधनमा स्टिकर राखेर दैनिक यात्रा गर्ने हजारौँ मानिससम्म सकारात्मक सन्देश पु¥याउने उनको लक्ष्य छ ।
अभियान सञ्चालनका लागि आवश्यक रङ, उपकरण, समय तथा अन्य खर्च तिवारी आफैँ र उनका दुई साथी सुशील तथा सागरराज शर्माले बेहोर्दै आएका छन् । कुनै संस्थागत आर्थिक सहयोगबिना व्यक्तिगत लगानी र सहकार्यमा अभियान अघि बढिरहेको उनले बताए ।
सामाजिक सञ्जालमार्फत सन्देश फैलाउने प्रयास भइरहेका बेला सडकका भित्तामा बनाइने कलाले प्रत्यक्ष रूपमा धेरै मानिसको ध्यान खिच्न सक्ने तुको विश्वास छ । उनका लागि ‘खुसी बन’ केवल भित्तामा लेखिएको दुई शब्द होइन, मानिसलाई सकारात्मक सोच्न र जीवनका साना क्षणमा पनि खुसी खोज्न प्रेरित गर्ने एउटा अभियान हो ।
काठमाडौंका विभिन्न स्थानमा फैलिँदै गएको यो चित्रले सार्वजनिक कला केवल सौन्दर्यका लागि मात्र नभई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम पनि बन्न सक्छ भन्ने देखाएको छ ।

























