गृहपृष्ठ आन्दोलनका कारण डेढ महिनादेखि जानकी मेडिकल कलेज ठप्प
आन्दोलनका कारण डेढ महिनादेखि जानकी मेडिकल कलेज ठप्प
तराई मधेसको एकमात्र जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी र विद्यार्थीले तलब माग गर्दै आन्दोलन चर्काएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित रमदैया भवाडीमा रहेको कलेजमा कार्यरत करिब चार सय कर्मचारीले १५ महिनादेखिको तलब भत्ता माग गर्दै आन्दोलन चर्काएका हुन् ।
वैशाख २३ गतेदेखि कर्मचारीहरु सेवा ठप्प पारेर आन्दोलनमा उत्रिए पनि कलेज प्रशासनले बेवास्ता गर्दै आएको छ । महिनौंदेखि तलब नपाएपछि काम गर्न समस्या भएको जनकपुरस्थित सिटी हस्पिटलका कर्मचारी परमेश्वर साहले बताए । ‘गाउँबाट हस्पिटलमा काम गर्न आएको छु, डेराभाडासमेत १५ महिनादेखि तिर्न सकेको छैन,’ उनले न्युज कारोबारसँग भने, ‘दुईजना छोराछोरीको पढाइ खर्च तिर्न नसक्दा निकै तनाव हुने गरेको छ ।’ उनले आन्दोलन गर्नु आफूहरुको रहर नभएको भन्दै तत्काल तलब भत्ता दिन कलेज प्रशासनसँग माग गरे ।

जानकी मेडिकल कलेज कर्मचारी हकहित संरक्षण संघर्ष समितिका अध्यक्ष उमेश यादवले कलेज प्रशासनले पटक–पटक तलब भत्ता दिइहाल्ने भन्दै सम्झौता गर्दै टार्ने गरेको बताए । कलेज प्रशासनले प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको कार्यकक्षमा बसेर वैशाख १० गते दुई महिनाको तलब, भत्ता दिने मौखिक सहमति गरेको थियो । वैशाख १० गते प्रेस विज्ञप्ति निकाल्दै १५ गतेसम्म सबै तलब भत्ता दिने भन्यो । फेरि पछि जेठ ३१ गते कर्मचारीको बाँकी बक्यौता दिने भनेर झुक्यायो । अहिलेसम्म कर्मचारीले तलबभत्ता पाउन सकेका छैनन् ।
कलेज प्रशासनले कर्मचारीलाई १५ महिनाको तलब, तीन वर्षको दसैं पेश्की, पाँच वर्षको सञ्चय कोष गरी २८ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । एमबीबीएससम्मको पढाइ हुने जानकी मेडिकल कलेजमा तीन सय विद्यार्थी अध्ययनरत छन् । राजनीतिक प्रभावमा वर्षैपिच्छे अध्यक्ष परिर्वतन हुँदै आएको यस कलेजमा २०७२ साउनयता चारजना अध्यक्ष फेरिए । हाल डिल्लीराम पौडेल अध्यक्ष छन् ।
अफ्ठ्यारोमा बिरामी
कलेज प्रशासनको गैरजिम्मेवारीका कारण पटक–पटक ओपिडीदेखि आकस्मिक सेवासम्म अवरुद्ध भइरहँदा बिरामी मर्कामा पर्ने गरेका छन् भने कलेजप्रति स्थानीयको विश्वास गुम्न थालेको छ ।
करिब डेढ वर्षदेखि तलब नपाएका कर्मचारी आन्दोलित भएपछि रमदैयामा कलेजसँगै शिक्षण अस्पताल जनकपुरको ब्रह्मपुरीस्थित सिटी हस्पिटलमा दैनिक जाँच गराउन आउने हजारौं बिरामी मर्कामा परेका छन् । आन्दोलनका कारण दैनिक सयाैं बिरामी फर्किने गरेको जनकपुरस्थित सिटी हस्पिटलमा कार्यरत कार्यालय सहयोगी दिलिपकुमार यादवले बताए ।
पढाइ प्रभावित
कलेज लामो समयदेखि आन्दोलनको चपेटामा परेपछि त्यहाँ अध्ययनरत विद्यार्थीको पढाइदेखि होस्टेल बसाइसम्म प्रभावित भएको छ । विद्यार्थीको पढाइ लथालिंग भएको छ भने होस्टेलमा आवश्यक खाद्यान्नदेखि बिजुलीबत्ती र खानेपानीसमेतको समस्या हुन थालेको छ ।
प्रकाशित समय : ०२:२६ बजे



















