गृहपृष्ठ शुद्धोधन गाउँपालिकाले बनायो ४० लाखमा कृत्रिम ताल
शुद्धोधन गाउँपालिकाले बनायो ४० लाखमा कृत्रिम ताल
रुपन्देहीको शुद्धोधन गाउँपालिकाले दुई किलोमिटर लामो कृत्रिम ताल निर्माण गरेको छ । १८ किलोमिटर दक्षिणमा रहेको लुम्बिनी नहरमा जोड्ने दीर्घकालीन योजनासहित गाउँपालिकाले वडा नम्बर ५ को दर्बाह क्षेत्रमा कृत्रिम ताल निर्माण गरेको हो ।
प्राकृतिक पानीलाई दुबैतर्फ ड्याम निर्माण गरी ताल निर्माण गरेको गाउँपालिकाले तालको पानीबाट बहुद्देश्यीय कार्य गर्ने जनाएको छ । शुद्धोधन–५ का अध्यक्ष पुण्यराम गौतमले गाउँपालिकाबाट विनियोजित ४० लाख रुपैयाँ खर्च गरी ताल निर्माण गरिएको बताए । अहिले ताल क्षेत्रमा पार्किङ, बालउद्यान, रेस्टुरेन्ट, पानीका फोहोरालगायत निर्माण भइरहेको छ ।
‘पहिलो चरणमा उत्तरतर्फको ड्याम निर्माण गर्नुका साथै कृत्रिम ताल रहने स्थानको सरसफाइ र पानीको फैलावटका लागि जग्गा सम्याउनेलगायतका कार्य भइसकेको छ,’ वडा अध्यक्ष गौतमले भने । पाँच वर्षभित्रमा १८ किलोमिटर टाढा रहेको लुम्बिनी नहरमा पानी पुर्याउने गरी योजना अगाडि बढाइएको उनले जानकारी दिए ।
लुम्बिनी नहरमा ताल जोडिएपछि लुम्बिनी आएका पर्यटकलाई डुंगामार्फत मापकडीसम्म पुर्याउने वडा कार्यालयको योजना छ । मापकडीमा रहेको भुवनेश्वरी दर्बाह कोटहीमाई मन्दिरको समेत अवलोकन गर्न सकिने गरी योजना अघि बढाइएको छ । ताल क्षेत्रले शुद्धोधन गाउँपालिकाको ४, ५, ६ र ७ नम्बर वडालाई समेट्नेछ । भ्युटावर निर्माण गरी लुम्बिनी अवलोकन गर्न सकिने तालमा व्यावसायिक रुपमा माछापालन, डुंगा सयर, स्टिमर चलाउनेलगायतका योजना छन् । जसका लागि करिब १० करोड लागत अनुमान गरिएको छ ।
खडेरीको समयमा पनि प्राकृतिक रुपमा मूलबाट निरन्तर पानी बग्ने भएकाले ताल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । सिमसार क्षेत्र संरक्षणका लागि पनि ताल महत्वपूर्ण हुनेछ ।
उक्त क्षेत्रमा सरकारले आकर्षक पुल निर्माण गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ । डेढ बिघामा फैलिएको भुवनेश्वरी दर्बाह कोटहीमाई मन्दिर पुरात्वविक हिसाबले पनि महत्वपूर्ण छ ।
प्रकाशित समय : ०२:३४ बजे



















