गृहपृष्ठ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रभित्र डिप बोरिङ !
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रभित्र डिप बोरिङ !
बारा- बाराको टाँगियाबस्तीमा निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र जितपुर सिमरा उपमहानगरपालिकाले डिप बोरिङ गाडिरहेको छ । उपमहानगरपालिकाले खानेपानीका लागि भन्दै टाँगियाबस्तीमा डिप बोरिङ गाड्न थालेको हो ।
सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तोकिएको चार किल्लाभित्र कुनै संरचना निर्माण नगर्न/नगराउन निर्देशन दिइसकेको छ । तर, उपमहानगरपालिकाले २० लाख रूपैयाँ लगानीमा चारवटा डिप बोरिङ गाडिरहेको छ ।
विमानस्थल निर्माण क्षेत्रभित्र डिप बोरिङ गाडिएको बारे कुनै जानकारी नभएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । उपमहानगरपालिकाले भने खानेपानीको समस्या समाधानका लागि डिप बोरिङ गाडिएको बताएको छ ।
भर्खरै वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भई निजगढमा विमानस्थल निर्माणले गति लिने चरणामा छ । विमानस्थल निर्माण क्षेत्रका करिब २५ लाख रुख कटानका लागि आवश्यक गृहकार्य अघि बढिसकेको छ । विमानस्थलको पश्चिम सिमानामा पर्ने राजमार्गसँगैको पसाहा खोला किनारमा ७५० मिटर लामो तटबन्ध बनिसकेको छ । लालबकैया खोलामा तटबन्धका लागि सर्भे र डिजाइन भइरहेको छ भने चारैतिर तारबारको कामले तीव्रता पाएको छ ।
तर, उपमहानगरपालिकाले भने खानेपानीका लागि भन्दै आयोजना क्षेत्रभित्र डिप बोरिङ निर्माण गर्नु केन्द्र सरकारलार्इ चुनौतीबराबर भएको स्थानीय बासिन्दा बताउँछन् ।
प्रकाशित समय : २१:५७ बजे



















