काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रातारात राजधानीका सडक कालापत्रे गरिँदै

16.95K
shares

अन्तराष्ट्रिय अतिविशिष्ट पाहुना नेपाल आउँदा ती पाहुना पुग्ने स्थानहरुमा रातारात सडक कालोपत्रे गर्ने, धोइपखाली गर्ने र छेउछाउका घरहरु समेत रंगरोगन गरेर चिटिक्क पार्ने चलन नौलो होइन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २०७१ साउन १८ गते नेपालको राजकीय भ्रमणमा आउँदा काठमाडौं उपत्यका सिँगारेर दुलहीजस्तै बनाइएको थियो । झण्डै दुई दशकपछि भारतीय सरकार प्रमुखले गरेको भ्रमण भन्दै सरकारको हर्षबढाई सडकमा मात्रै नभई सडक छेउछाउका निजी घरहरुमा गरिदिएको रंगरोगनबाट पनि प्रष्टै हुन्थ्यो । कार्यतालिका अनुसार मोदी जहाँ जहाँ पुग्ने कार्यक्रम थियो त्यहाँ त्यहाँ सरकारले सडक कालोपत्र गरेर चिल्लै पारेको थियो ।

त्यसको तीन महिनापछि काठमाडौंमा सार्क शिखर सम्मेलन भयो । सार्क सदस्य राष्ट्रका ८ राष्ट्राध्यक्ष तथा सरकार प्रमुख काठमाडौं आएका थिए । त्यसबेला पनि सरसफाई अभियान नै चल्यो ।

त्यसपछि पुनः भारतीय प्रधानमन्त्री मोदी गत वैशाख २८ गते दुईदिने नेपाल भ्रमणमा आएका थिए । उनी होटल ह्यातमा बस्ने कार्यक्रम थियो । तर विमानस्थलदेखि त्यहाँ पुग्ने चाबहिल क्षेत्रको सडक ध्वस्त थियो ।

वैशाख २५ गते चाबहिलचोकदेखि ह्यात होटलसम्मको ७ सय मिटर सडक रातारात कालोपत्रे गरियो । बौद्धतर्फको सडक जस्ताको त्यस्तै । सरकारले नौटंकी देखाएको भन्दै सामाजिक संञ्जालमा चर्काे आलोचना पनि भयो ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मको सडक मर्मत गर्ने कार्य त्यसरी नै हतार हतारमा भइरहेको छ । ट्यांकरका ट्यांकर पानी खन्याउने, पखाल्ने र कालोपत्रे गर्ने काम भइरहेको छ ।

तर यो कुनै लामो माग र प्रक्रिया पार गरेर आएको योजना भने होइन । यो त फेरि विदेशबाट अतिविशिष्ट पाहुनाहरु आउने भएपछि सरकारले थालेको हतारको सरसफाई हो । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ ।

त्यसका लागि अहिले दिनरात साँझबिहान धमाधम कालोपत्रेको काम भइरहेको छ । विमानस्थल हुँदै तीनकुने, बानेश्वर–माइतीघरलगायतका स्थानमा पानी दर्किरहे पनि कालोपत्रे गर्ने कार्य रोकिएको छैन । सडकका खाल्डाखुल्डी पुर्ने तथा रेलिङ र पर्खालमा रङ लगाउने काम तीव्र गतिमा भइरहेको छ ।

सम्मेलनमा सहभागी हुन भारत, भुटान, श्रीलंका, बंगलादेश, थाइल्यान्ड र म्यानमारका राष्ट्रध्यक्ष तथा सरकार प्रमुख काठमाडौं आउँदैछन् । त्यसका लागि सरकारलाई सरसफाईको चटारो आइलागेको हो ।

जब बिदेशी पाहुना आउछन् तब मात्रै सरसफाई र कालोपत्रेमा ध्यान दिने सरकारको प्रवृत्तिप्रति भने सर्वसाधरणले आक्रोश व्यक्त गर्ने गरेका छन् । नागरिक अगुवा राम खड्काले भने, ‘अब चीन र अमेरिकाको राष्ट्रपतिले नेपाल भ्रमण गरिदिए हुन्थ्यो र उनीहरु राजधानीका सवै ठाउँ घुमिदिए हुन्थ्यो, कम्तिमा राजधानीको मुहार हेरिन्थ्यो, हामी जस्ता जनताले पनि चिल्ला सडक गुड्न पाउथ्यौँ ।’
गत साउन २८ गते सांसद गगन थापाले संसद् बैठकमा बिमस्टेक सम्मेलनमा आउने विदेशी पाहुनालाई छुट्टाछुटै होटलमा राख्न सरकारसँग ब्यांगात्मक माग गरेका थिए । उनले भनेका थिए, ‘पाहुनाले सडकमा भएको खाल्डो, हिलो देखे भने इज्जत जाने मान्यतालाई आत्मसाथ गर्दै हाम्रो सरकारले रातारात खाल्डो पुर्नेछ र बेथिती हटाउनेछ भन्नेमा म पूर्णत विश्वस्त छु ।’

विदेशी पाहुना आउँदा सरसफाई सहित सत्कारमा ध्यान दिनु स्वभाविक हो । तर जनतालाई बाह्रै महिना धुलो धुवाँ, खाल्डाखुल्डी र फोहोरमैलाको सास्ती दिएर पाहुनाका लागि सफा शहर रहेको भ्रम पार्न गरिएको प्रचारबाट राजधानी आजित छन् ।