गृहपृष्ठ संविधान दिवसका दिन उपराष्ट्रपति चीन जाने
संविधान दिवसका दिन उपराष्ट्रपति चीन जाने
उपराष्ट्रपति नन्दबहादुर पुन संविधान दिवस मनाएलगै चीन जाने भएका छन् । ६ दिने भ्रमणका लागि उनी असोज ३ गते चीन जान लागेका हुन् । दोस्रो पटक उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक विदेश भ्रमणमा जान लागेका उनले ‘१७औं चीन–पश्चिम अन्तर्राष्ट्रिय मेला’ मा सहभागिता जनाउने कार्यक्रम छ ।
सिचुवान प्रान्तको राजधानी छेन्दुमा असोज ४ गतेदेखि सुरु हुने सो मेलाको उद्घाटन समारोहलाई नेपालको तर्फबाट उपराष्ट्रपति पुनले सम्बोधन गर्नेछन् । ‘चीनमा नयाँ क्षेत्र, पश्चिमी चीनमा नयाँ विकास’ भन्ने मुख्य नाराका साथ आयोजना भएको मेला असोज ८ गतेसम्म सञ्चालन हुनेछ ।
उपराष्ट्रपति पुनले असोज ५ गते अन्तर्राष्ट्रिय मेलाको अवसरमा छेन्दुमा आयोजित डिजिटल फोरमलाई सम्बोधन गर्नेछन् । भ्रमण टोलीमा करिब १५ जना रहनेछन् । उनी पुन असोज ८ गते स्वदेश फर्कनेछन् । अघिल्लो कार्यकालमा उपराष्ट्रपति पुनले दुईपटक चीनको औपचारिक भ्रमण गरेका थिए ।
प्रकाशित समय : २३:३६ बजे



















