गृहपृष्ठ ‘मौन बसेको सरकार : किन बढ्दैछ बलात्कार’
‘मौन बसेको सरकार : किन बढ्दैछ बलात्कार’
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन दबाब दिँदै शनिबार देशभर प्रदर्शन भएको छ । दोषी पत्ता लगाएर कारबाही गर्न र न्याय दिन माग गर्दै काठमाडौंसहित जिल्ला–जिल्लामा प्रदर्शन भएको हो ।
स्वस्फुर्त प्रदर्शनमा नागरिक समाजका अगुवा तथा विद्यार्थी, कलाकार, वृद्धवृद्धालगायतको नागरिकको ठूलो सहभागिता रह्यो । निर्मलाको बलात्कारपछि हत्या गरिएको ५२ दिन बित्दासमेत दोषी पत्ता लगाउन नसकेको भन्दै आक्रोशित सर्वसाधारणले काठमाडौंसहित पोखरा, धरान, विराटनगर, काभ्रे, रोल्पा, पाल्पालगायतका देशका मुख्य सहर र प्रायः सबै जिल्लामा प्रदर्शन गरे ।
निर्मलाका लागी न्याय माग्न काठमाडौंमा माइतीघर मण्डलामा सयौं मानिस भेला भएका थिए । शान्तिपूर्ण भेलामा निर्मलाका बाबुआमासमेत उपस्थित थिए । जस्टिस फर निर्मला नाममा गरिएको प्रदर्शनमा ‘चुप लागेर नबसौं : न्याय मर्न नदिऔं’, ‘सरकार देखाऊ इच्छा : खै त महिलाको सुरक्षा’, ‘मौन बसेको सरकार : किन बढ्दैछ बलात्कार’, ‘सरकारले देखायो लाचारी : त्यसैले हाम्रो खबरदारी’ लगायत नारा लगाइएका थिए ।
साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्यारा अझै पत्ता लाग्न सकेको छैन । घटनाको ५२ दिन बित्दासमेत अपराधी पत्ता नलाग्दा प्रहरी प्रशासन र स्वयं सरकारविरुद्ध आक्रोश बढेर गएका छन् ।
प्रकाशित समय : ००:१२ बजे



















