global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल टेलिकमको इन्ट्रानेट सेवाको महसुल दर परिवर्तन

नेपाल टेलिकमको इन्ट्रानेट सेवाको महसुल दर परिवर्तन

नेपाल टेलिकमको इन्ट्रानेट सेवाको महसुल दर परिवर्तन

नेपाल टेलिकमले असोज १ देखि इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गरेको छ । साथै टेलिकमले वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको छ । कर्पोरेट ग्राहकहरुले नेपाल टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्टहरु कनेक्ट गर्नको लागि इन्ट्रानेट लिज सेवाको उपयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।

बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी थप आकर्षक तथा समसामयिक बनाइएको टेलिकमद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । पहिले न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध गराइएकोमा अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको लिज लाइन उपलब्ध गराइने टेलिकमले जानकारी दिएको छ । उसका अनुसार हाल २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकहरुको समयावधि सकिएपछि स्वचालित रुपमा ५१२ केबीपीएसमा अपग्रेड हुनेछ र नयाँ महसुल दर पनि सोही मितिदेखि लागू हुनेछ ।

५१२ केबीपीएसको महसुल दर प्रति महिना १ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । त्यसैगरी १ देखि १० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ७ सय, ११ देखि १०० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ४ सय र १०० एमबीपीएस भन्दा माथिको महसुल दर प्रति एमबीपीएस २ हजार १ सय रुपैयाँ तोकिएको छ । उल्लिखित दरमा थप कर लाग्ने टेलिकमले जनाएको छ ।

त्यसैगरी असोज १ देखि मंसिर २९ सम्म ९० दिन वाइम्याक्स सेवाको प्रमोसनल अफर अन्तर्गत अनलिमिटेड डाटा प्याकेज लगायत विभिन्न प्याकेज उपलब्ध गराइने भएको छ । यस अन्तर्गत अनलिमिटेड डाटामा थप कर लाग्ने छैन भने भोल्युम वेस्ड प्याकेजमा थप कर लाग्ने छ ।

व्यक्तिगत प्रयोगकर्ताहरुलाई ५१२ केबीपीएस स्पिडको अनलिमिटेड डाटा भोल्युम १५ सय रुपैयाँमा उपलब्ध गराइने र सो प्याकेज चलाउने समयावधि एक महिना हुने टेलिकमले जानकारी दिएको छ । गाउँपालिकाहरुका लागि यही क्षमताको प्याकेज १ हजार रुपैयाँमा उपलब्ध गराइने छ ।

त्यसैगरी २ एमबीपीएस गति सम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइने छ । यस अनुसार १५ दिनका लागि ५ सय रुपैयाँमा १० जीबी, १ महिनाका लागि १ हजार रुपैयाँमा २० जीबी, ३ महिनाका लागि ३ हजार रुपैयाँमा ७० जीबी र ६ महिनाका लागि ६ हजार रुपैयाँमा १७५ जीबी भोल्युम उपलब्ध गराइने छ ।

१ बर्षका लागि १२ हजार रुपैयाँमा ५०० जीबी र २० हजार रुपैयाँमा १ हजार जीबी प्याकेज तथा १ वर्षे कर्पोरेट प्याकको रुपमा ३५ हजार रुपैयाँमा २३०० जीबी प्याकेज उपलब्ध गराइने टेलिकमले जनाएको छ । वाइम्याक्स प्रयोगका लागि आवश्यक डिभाइस यूएसबी डोंगलसहित बन्डलिङ गरेर पनि प्याकेज उपलब्ध गराइने र १ बर्षका लागि ६ हजार रुपैयाँमा २५० जीबी भोल्युम उपलब्ध गराइने टेलिकमद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै संविधान दिवस २०७५’ को अवसरमा कम्पनीले ‘कन्स्टिच्युसन प्याक २०७५’ अफर ल्याएको छ । असोज १ देखि १५ गते सम्म कर सहित १८ रुपैयाँमा सो प्याक खरिद गर्न सकिने र खरिद गरेपश्चात ७० मिनेट सम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन सकिने जनाइएको छ ।

प्रकाशित समय : २०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु