गृहपृष्ठ सांसदको घरमा आगो लगाउने धम्की दिने मेयरविरूद्ध उजुरी
सांसदको घरमा आगो लगाउने धम्की दिने मेयरविरूद्ध उजुरी
प्रदेश ७ को राजधानी धनगढीबाट सार्ने प्रस्तावपछि भएको आन्दोलनमा प्रदेश सरकार र सांसदलाई धनगढी छोड्न अल्टिमेटम दिएका उपमहानगरपालिका प्रमुख नृप वडविरुद्ध सांसदहरुले उजुरी हालेका छन् । नगर प्रमुख वडले धनगढीबाहिर राजधानी लैजाने सांसदलाई धनगढीमा बस्ने अधिकार नभएको भन्दै २४ घण्टाभित्र धनगढी छाड्न चेतावनी दिएका थिए ।
उनले यो ठाउँ नछाडेमा वा निर्णय नसच्याएमा सांसद बस्ने ठाउँमा गएर आगो लगाउन पनि पछि नहट्ने बताएका थिए । नगर प्रमुखको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै प्रदेश सभा सदस्यहरुले नै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।
प्रदेश सभा सदस्यहरु हर्कबहादुर कुँवर, लीलाधर भट्ट, नन्दबहादुर साउद, देवकी मल्ल, अक्कलबहादुर रावल, कृष्ण सुवेदी र गेल्वुसिंह बोहरालगायतका २० जना सांसदले नगर प्रमुख वडविरुद्ध उजुरी हालेका हुन् ।
उजुरीमा दंगा भड्काउने अभिव्यक्ति दिएकाले कानुनी कारबाहीको माग गरिएको छ । प्रमुख वडले आक्रोसमा गलत शब्द बोलेको स्वीकार गरिसकेका छन् । बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै वडले आक्रोसमा गलत शब्द बोलेको भन्दै क्षमा मागेका हुन् । प्रदेश ७ को राजधानी गोदावरीको जंगलमा सार्न भूमाफियाको पनि संग्लनता रहेको आरोप नगर प्रमुख वडले लगाउँदै आएका छन् ।

प्रकाशित समय : २२:५५ बजे



















