गृहपृष्ठ यातायात व्यवसायीको बार्गेनिङ सुरु
यातायात व्यवसायीको बार्गेनिङ सुरु
यातायात व्यवसायीहरुले समितिका रोक्का बैंक खाता नखोले दशैंका लागि अग्रिम टिकट बुकिङ गर्न नसक्ने बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले समितिको खाता नखोले अग्रिम टिकट बुकिङ गर्न नसक्ने बताएका हुन् । सरकारसँग उनको प्रश्न छ । ‘खाता सञ्चालन गर्न नदिए पैसा कहाँ राख्ने ?’
यसैबीच, यातायात व्यवस्था विभागले भने रोक्का गरिएको खाता खोल्ने विषयमा कुनै प्रक्रिया अघि नबढेको जनाएको छ । असोज ५ गते यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्नुअघि रोक्का खाता खोलिने भनी भइरहेको चर्चा सत्य नभएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले बताए । नवीकरण नै नभएका समितिले कम्पनीमा गएको प्रमाण लिएर आए खाता खोल्न प्रक्रिया अघि बढ्ने अन्यथा फुकुवा गर्न नसकिने ढकालको भनाइ छ ।
संघसंस्था दर्ता ऐनअनुसार सामाजिक काम गर्ने उद्देश्यले समिति खोलेर व्यापार गरेको भन्दै विभागले गत चैत १८ गते नयाँ निर्देशिका जारी गरी नवीकरण बन्द गरेको थियो । समितिलाई पुस मसान्तसम्म कम्पनी दर्ता भइसक्न अवधि तोकिएको थियो ।
यातायात महासंघमा तीन सय ७ समिति आबद्ध थिए । त्यसमध्ये दुई सय ४५समितिको बैंक खाता सरकारले रोक्का गरिदिएको थियो । ६२ खाता भने सहकारी एवं वित्तीय संस्थामा रहेकाले सञ्चालनमै रहेका छन् । पाँच महिनासम्म पनि व्यवसायीले समिति कम्पनीमा दर्ता गर्नभने आनाकानी गरेका छन् ।
प्रकाशित समय : ००:१६ बजे



















