global ime bank Long Banner Ad

गृहपृष्ठ संविधान दिवसमा बत्ती बाल्नेदेखि निभाउनेसम्मका कार्यक्रम

संविधान दिवसमा बत्ती बाल्नेदेखि निभाउनेसम्मका कार्यक्रम

संविधान दिवसमा बत्ती बाल्नेदेखि निभाउनेसम्मका कार्यक्रम

संविधानसभाबाट संविधान जारी भएको तीन वर्ष पूरा भएको सन्दर्भमा बुधबार विभिन्न कार्यक्रम गरिँदै छ । सो अवसरमा सरकारले विशेष कार्यक्रम गरी संविधान दिवस मनाउँदै छ । विभिन्न राजनीतिक दलहरुले छुट्टा छ्ट्टै कार्यक्रम गरी संविधान दिवस मनाउने तयारी गरेका छन् ।

संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रिपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत विशिष्ट पदाधिकारीहरूको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कूटनीतिक नियोगका प्रतिनिधिसमेत सहभागी हुने कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरबाट संविधान दिवस २०७५ अंकित ब्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरिने भएको छ ।

बेलुन उडाउने, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशबाट शान्तिका प्रतीक परेवा उडाउने, सेना, प्रहरी, स्काउट र विद्यार्थीको मार्च पास गर्नेलगायतका कार्यक्रम तय भएको छ । नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेसलगायतका दलले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

संविधान जारी भएको दिनको सन्दर्भमा सरकारले भव्यताका साथ संविधान दिवस मनाउने तयारी गरिरहँदा मधेसकेन्द्रित दलले भने संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने जनाएका छन् ।

उता संघीय सरकारलाई सर्मथन गरेको र प्रदेश सरकारमा महत्वपूर्ण मन्त्रालयसहित सहभागी राष्ट्रिय जनता पार्टीले भने मधेसमा ‘ब्ल्याक आउट’ गर्ने कार्यक्रम तय गरेको छ । राजपाले विरोध प्रदर्शन र विरोध सभा गर्नेसमेत घोषणा गरेको छ । सरकारमा सहभागी भएको राजपाले केन्द्र सरकारलाई समर्थन गरेको छ । लाभको पद लिन लालायित हुने राजपा संविधानबारे जनतामा भ्रम सिर्जना गर्न विरोधमा उत्रिनुलाई विश्लेषकहरुले दोहोरो चरित्रका रुपमा टिप्पणी गरेका छन् ।

यस्तै सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी संघीय समाजवादी फोरमले यस पटक भने संविधान दिवसलाई कालो दिवसका रुपमा नमनाउने भएको छ । केही दिनअघि कालो दिवस मनाउने भनेर पार्टीमा आन्तरिक सर्कुलर गरेको सत्ता साझेदार फोरम चौतर्फी आलोचनापछि यु–टर्न भएको हो । तर संविधान दिवसमा समर्थन वा विरोध केही पनि नगर्ने उसको निर्णयको पनि आलोचना भएको छ । संविधान कार्यानवयनको लागि बनेको सरकारमा सहभागी संघीय फोरम संविधान दिवसमा खुलेर सहभागी नजनाउनु आलोचनाको विषय बनेको छ ।

नेपाली कांग्रेस, तत्कालीन नेकपा एमाले, नेकपा माओवादी केन्द्रको अग्रसरतामा संविधान जारी हुँदा मधेस केन्द्रित दलले भने हस्ताक्षर गरेका थिएनन् । ती दल प्रदेश सीमांकनमा असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएका थिए । संविधान जारी भएसँगै आन्दोलन चर्किदै गयो । जसका कारण भारतीय नाकाबन्दीको सामना गर्नुपरेको थियो । संविधानसभाका करिब ९३ प्रतिशत सदस्यले हस्ताक्षर गरेको संविधान कार्यान्वयनमा मधेसकेन्द्रित केही दलको असन्तुष्टि अझै सकिएको छैन ।

उनीहरु कोही सत्तामा र कोही सरकारलाई समर्थन गरे पनि संविधान संशोधनको माग छाडेका छैनन् । जसका कारण संविधान जारी भएको ३ बर्ष वित्दासमेत अझै पूर्ण कार्यान्वयन चुनौतिपूर्ण देखिएको छ । संविधान जारी भएको ३ वर्षभित्र कार्यान्वयन गर्नुपर्ने केही महत्वपूर्ण कानुन भने बनाइएको छ । बुधबारमात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले पत्रकार सम्मेलन गरी निर्माण भएका कानुनका सम्बन्धमा जानकारी गराएका छन् ।

संविधान कार्यन्वयनको सन्दर्भमा संवैधानिक व्यवस्थाअनुसार २०७४ साल माघ ७ गतेसम्म तीनै तहको निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन भएको छ । स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न गरी संविधानलाई पूर्ण कार्यान्वयनको दिशातर्फ अग्रसर तुल्याउन शक्तिशाली सरकार गठन भएको छ ।

नेपालको संविधान जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधानसभाले २०७२ भदौ ३० गते यो संविधान २ तिहाई भन्दा बढी मतले पारित गरेको हो । २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्षले प्रमाणित गरेका थिए ।

२०७२ असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधानमा हस्ताक्षर गर्दै जारी भएको घोषणा गरेका थिए । नेपालको संविधान सोही दिन नेपाल राजपत्रमा प्रकाशित भइ लागू भएको हो ।

प्रकाशित समय : ००:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु