global ime bank Long Banner Ad

गृहपृष्ठ बुटवलको उपमहानगरको गुरुयोजना तयार

बुटवलको उपमहानगरको गुरुयोजना तयार

बुटवलको उपमहानगरको गुरुयोजना तयार

बुटवल उपमहानगरपालिकाले पहिलो वर्षलाई अध्ययनका रुपमा लिँदै अब समृद्धिको आधार वर्षका रुपमा महत्वपूर्ण कामहरु अगाडि बढाएको बताएको छ । मंगलबार उप–महानगरपालिकामा पत्रकार भेटघाट कार्यक्रम गर्दै उपमहानगरपालिकाले ५ वर्षे आवधिक तथा १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना तयार गरेको सार्वजनिक गरेको छ ।

गुरुयोजना निर्माणको निम्ति विज्ञ समूह, विषयगत विज्ञ उपसमूह, निर्देशक समिति र सल्लाहकार समिति गठन गरेर वडावासीहरु र विभिन्न सरोकारवाला निकायहरुसँग सुझाव संकलनसमेत गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

‘यो चरण सँगै विभिन्न विषयगत समितिहरुमा छलफल गर्ने काम सम्पन्न गर्दै तेस्रो नगरसभाबाट बुटवल उपमहानगरपालिकाको एकीकृत विकास गुरुयोजना पारित गरिएको छ ।’ प्रमुख सुवेदीले नगर प्रोफाइल पाश्र्वचित्र निर्माण गर्ने काम समेत सम्पन्न भएको बताए ।

हिलपार्कमा विशाल बुद्ध मूर्ति साथै बुद्धिस्ट पार्क निर्माणका लागि सर्भे तथा जग्गा यकिन गर्ने काम सम्पन्न गर्दै डिपिआर तयार पार्ने काम भइरहेको नगरप्रमुख सुवेदीले बताए । यो बुद्धमूर्ति लुम्बिनीको मायादेवी मन्दिर परिसरबाटसमेत देख्न सकिने गरी डिजाइन भइरहेको बताइएको छ ।

यस्तै शिवनगर सामुदायिक बनमा रामपिथेकस जियोलोजिकल पार्क बनाउन सर्भे तथा जग्गा एकिन गर्ने काम भईरहेको छ । मिलनपार्कको विकासका लागि गुरुयोजना निर्माण गर्दै पूर्वाधार निर्माणको काम सुरु भएको छ ।

तत्कालीन अंग्रेज सेनालाई पराजित गरेको जितगढी किल्लामा कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक बनाइएको भएको छ । जितगढी किल्लामा विशाल राष्ट्रिय झण्डा फहराउने गरी डिजाइन भइरहेको प्रमुख सुवेदीले बताए । यो कामको डिजाइन तयार पारी निर्माण कार्यका प्रक्रिया अगाडि बढाइएको छ । विभिन्न विज्ञहरुसंगको अन्तरक्रिया र छलफल मार्फत ऐतिहासिक धरोहर जितगढी किल्लाको संरक्षण र प्रर्वद्धन गर्न कार्यपालिकाको बैठकबाट बैशाख ७ गतेलाई जितगढी विजयोत्सवका रुपमा मनाउने निर्णय गरीएको साथै जितगढी किल्लाको बारेमा पर्चा निर्माण गरी वितरण भईरहेको छ ।

बुटवल उपमहानगर वडा नम्बर १ र २ लाई पुरातात्विक बस्तीको रुपमा विकास गर्र्न र बुटवल १ मा अवस्थित पुरानो नपा भवन भएको स्थानमा बटौली संग्रहालय निर्माण गरिने भएको छ । यो कामका लागि डिपिआर तयार पार्ने काम अगाडि बढाइएको छ । हिलपार्कमा जनजाति संग्रहालय र मोतिपुरमा थारु संग्रहालय निर्माणका लागि गुरुयोजना निर्माण गर्ने काम अगाडि बढाइएको प्रमुख सुवेदीले बताए । बुटवलको खास पहिचान नै पारि बुटवल (वडा १ र २ का क्षेत्र) मानिन्छ ।
पशुपतिनाथको महिमासँग जोडिएको सेमलारको नरैनापुर धाम र त्यसक्षेत्रको ताललाई जोडेर विशेष पर्यटकीय क्षेत्र बनाइने भएको छ ।

नरेनापुर भ्यू टावर निर्माण, पार्क निर्माण साथै सिमसार क्षेत्रको रुपमा विकास गर्ने अवधारणाको डिपिआर तयार पार्ने काम भइरहेको । साथै पार्क संरक्षणका लागि कम्पाउण्ड वाल निर्माण गर्ने काम भएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

नुवाकोट र बसन्तपुरलाई बुटवलको हिल स्टेशनका रुपमा विकास गर्न निजि क्षेत्रको सहकार्यमा केबलकारको अवधारणा अगाडि बढाइएको छ । यसका साथै तिनाउ गाउपालिकाको सहकार्यमा विकास योजना तयार पार्ने काम भईरहेको बुटवल उपमहानगरले जनाएको छ ।

डिजिटल प्रणालीबाट बुटवल उपमहानगरपालिका क्षेत्रभित्रका करिब ४०,००० भन्दा बढी घरहरुको डिजिटल प्रविधिमा आधारित घर नम्बरि गर्ने काम सम्पन्न भएको छ । निर्माण सामग्रीको गुणस्तर परीक्षणका लागि आवश्यक उपकरणहरुको खरिद गरी प्रयोगशाला निर्माण गर्ने काम भइरहेको छ ।

अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्र्न अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षण कार्यदल गठन गर्दै करिब १६ हजार घरघुरीको लगत संकलन गरी अमिन मार्फत नापजाँच गर्ने प्रक्रिया अगाडि बढाईएको छ ।

जवई खेल मैदानलाई फुटबल रंगशालाको रुपमा विकास गर्न डिपिआर सम्पन्न गरी निर्माण कार्य अगाडि बढाइएको छ । यो खेलमैदानका लागि उपमहानगरपालिकाले प्रदेश सरकारसँग समेत समन्वय गरिरहेको छ । प्रदेश सरकारले प्रदेश स्तरको एउटा खेल मैदान बुटवलमा पनि बनाउने घोषणा गरेको थियो । उपमहानगरले यही मैदानलाई बनाउन प्रस्ताव गरेको छ ।

यस्तै सिद्देश्वर, तामनगर, नहरपुर र सेमलार गरी ६ वटा खेलमैदान सम्याउने, फिलिङ्ग गर्ने, तारबार गर्ने, पर्खाल लगाउने र मैदानको वरीपरी हिडँडुल गर्न ट्रयाक बनाउने काम भएको छ । सेमलारमा आधुनिक कर्वडहल निर्माण र नगरका अन्य वार्डहरुमा स–साना खेलमैदानहरुलाई स्त्तरोन्नती गर्ने काम भईरहेको उपमहानगरपालिकाले जनाएको छ ।

७० वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र एकल महिला गरेर कूल ७,२७४ जना लाभग्राहीहरुलाई जनही दुई हजारका दरले चाडपर्व खर्च वितरण गर्नुका साथै ५ बर्ष मुनिका दलित बालवालिकालाई पोषण प्रोत्साहन कार्यक्रम अन्र्तगत जनही दुई हजार प्रदान गर्ने काम सम्पन्न भएको छ ।

जेष्ठ नागरिक परिचयपत्र र सामाजिक सुरक्षा परिचयपत्र सम्बन्धित वडाबाट वितरण गर्नेे, एकल महिलाहरुको तथ्यांक संकलन गर्ने, अपागं मैत्री सहर बनाउन अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरी कार्ययोजना निर्माण गर्ने र लैङ्गिक हिंसा मुक्त बुटवलको कार्ययोजना निर्माण गर्ने काम सम्पन्न गर्नुका साथै जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत ११ व्यक्तिहरुलाई ह्वीलचेयर र २० जनालाई सेतो छडी प्रदान गर्ने काम सम्पन्न भएको छ ।

प्रकाशित समय : ०२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु