शान्तिका लागि कानुन कार्यान्वयनमा जोड
वि.सं.२०७५ पुस ५ बिहीवार ०१:५४
shares

शान्तिका लागि कानुन निर्माण र कार्यान्वयनमा जोड दिनु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बुधबार शान्तिका लागि साझा अभियान कोक्यापले वीरेन्द्रनगरमा आयोजना गरेको संवाद कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
‘सामाजिक न्याय र मानव अधिकार हामी सबैको साझा सरोकार’ संघीय संरचनामा राजनितिक दल र नागरिक समाजको भुमिका विषयक संवाद कार्यक्रमका सहभागीहरुले शान्तिका लागि कानुन पहिलो बाधक भएको बताएका थिए ।
कार्यक्रममा सांसद सीता नेपालीले नेपालमा कानुन बन्ने र कार्यान्वयन नहुने भएको कारण पनि अशान्तिको सामना गर्नुपरेको बताईन् । उनले भनिन्, ‘दश वर्षे जनयुद्धका कारण देशमा अशान्ति भएको भन्ने कुरा गलत हो । आज पनि समाजमा शान्ति छैन । यसको मूल कारण कानुन निर्माण र कार्यान्वयनको कमजोरी हो ।’
सांसद सुशिल थापाले आफूहरुले समाजमा शान्ति स्थापनाको लागि सहयोग गर्ने भन्दै कानुन निमार्मणमा समेत पहल गर्ने बताए । त्यस्तै सांसद दानसिं परियारले समाजमा एउटा मात्रै समस्या नभएकोले शान्ति स्थापनामा कठिनाई भएको भन्दै सामाजिक सोच र चिन्तनमा पनि उत्तिकै परिवर्तन हुनुपर्ने बताए ।
त्यस्तै अधिवक्ता नन्द भण्डारीले संविधान कार्यान्वयन भएपनि कानुनको उचित कार्यान्वयन नहुँदा शान्ति प्रक्रियानै धरापमा परेको बताए ।
कार्याक्रममा सहभागी अधिकांशले कानुन र सामाजिक सोचका कारण समाजमा अशान्तिको वातावरण सिर्जना भएको बताएका थिए । कार्यक्रममा शिक्षाविद् पिताम्बर ढकालले संघिय संरचनामा राजनितीक दल र नागरिक समाजको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेको थिए ।

























